images
images
  • टि-२० विश्वकप: बंगलादेशलाई ५० रनले हराउँदै भारत सेमिफाइनल नजिक

    एजेन्सी- आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ ।

    जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । जारी विश्वकपमा भारत हालसम्म अपराजित छ ।

    लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना भने निकै कमजोर बनेको छ । भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलबाट चार अंक बटुलेको भारत तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

    आईतवार बिहान अष्ट्रेलियाले अफगानिस्तान माथि जित दर्ता गरेका भारतको सेमिफाइनलमा स्थान पक्का हुनेछ । सो नतिजा आएमा भारत र अष्ट्रेलिया बीचको खेलले समूह विजेता निर्धारण गर्नेछ ।

    एक खेलबाट दुई अंक जोडेको पूर्वविजेता अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको अफगानिस्तान शून्य अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

    शनिबार रातिको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो ।

    भारतले दिएको १९७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो । बंगलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ४० रन बनाए । तान्जिद हसनले २९ तथा तल्लोक्रमका ऋषाद होसेनले २४ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।

    भारतका लागि कुलदीप यादवले ३ तथा अर्शदिप सिंह र जसपृत बुम्राहले समान २-२ विकेट लिए । १ विकेट हार्दिक पन्ड्याको नाममा रह्यो ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९६ रन बनायो । भारतका लागि पन्ड्याले २७ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ५० रन बनाए । विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ र कप्तान रोहित शर्माले २३ रन जोडे ।

    बंगलादेशका तान्जिम हसन सकिब र ऋषाद होसेनले २-२ तथा शाकिब अल हसनले १ विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images