काठमाडौं- अमेरिकासँगै आयोजक वेस्ट इन्डिजले पनि आइसीसी टी-२० विश्वकप २०२४ मा विजयी शुरूआत गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पीएनजी)लाई ५ विकेटले हराएको हो ।
पीएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४२ रनको अविजित इनिङ खेले । ओपनर ब्रान्डन किंगले २९ बलमा ३४ रन जोडेका थिए । निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले १५(१५ रन जोडे ।
पीएनजीका लागि असद भालाले २ तथा अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १(१ विकेट लिए ।
त्यसअघि गयानामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो ।
पीएनजीका लागि सेसे बाउले ४३ बलमा सर्वाधिक ५० रन बनाए । किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे । असद भालाले २२ बलमा २१ रन बनाए ।
वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २(२ विकेट लिएका थिए । यस्तै अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले १(१ विकेट लिए ।
वेस्ट इन्डिज र पीएनजी रहेको समूह सि मा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा छन् ।
यसअघि आइतबार बिहान भएको पहिलो खेलमा आयोजक अमेरिकाले सानदार शुरूआत गरेको थियो । अमेरिकाले क्यानाडालाई ७ विकेटको हराएको थियो ।
आज नामिबिया र ओमान, दक्षिण अफ्रिका र श्रीलंका भिड्ने छन् ।


विश्व खबर 



















