काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनी संलग्न ग्यालेक्सी फोरके टेलिभिजन सहित १८ जना व्यक्ति तथा संस्थाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी परेको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेडबाट पैसा लगेर तिरेको नदेखिएको भन्दै पीडितहरुले सोमबार लामिछाने र उनी संलग्न ग्यालेक्सी टेलिभिजनसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन्।
यसअघि तीन पटक उजुरी हाल्न गएका पीडितहरुलाई प्रहरीले विवरण नपुगेको भन्दै फर्काएका थिए। सोमबार चौथो पटक विवरण जुटाएर गएपछि मात्रै प्रहरीले जाहेरी लिएको जाहेरीकर्ता मध्येका एक किरण श्रेष्ठले जानकारी दिए।
प्रहरीले सोमबार उजुरी लिएपनि दर्ता भने गरिसकेको छैन। जाहेरीमा संलग्नहरुकाबारेमा अनुसन्धान गरेपछि एक/दुई दिनमा उजुरीलाई औपचारिक दर्ता गर्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले वचन दिएको श्रेष्ठको भनाई छ।
‘उजुरी लिनुभयो तर अनुसन्धानपछि थप प्रमाण जुटाएपछि मात्रै औपचारिक रुपमा जाहेरी दर्ता गर्छौं भन्नु भएको छ। हामीलाई विश्वास छ एक/दुई दिनमा जाहेरी दर्ता हुनेछ’ उनले भने।
लामिछाने पूर्व गृहमन्त्रीसमेत भएकाले प्रहरीले जाहेरी लिन आनाकानी गरेको भएपनि आवश्यक प्रमाण जुटाएर दिएकाले जाहेरी अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढ्ने उनको आशा छ।
सहकारीका बचतकर्ताहरुले रास्वपा सभापति लामिछाने र उनी संलग्न ज्ञालेक्सी टेलिभिजनसहित दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, सहकारीका सदस्य शिवकुमार गुरुङका म्यानेजर हरि अधिकारी, नेत्रपाणी बास्तोलालगायतका व्यक्तिहरू विरुद्ध जाहेरी दिएका हुन्।
सहकारी ठगी आरोपमा जाहेरीमा परेका दीपेश पुन पूर्व उप-राष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्। त्यस्तै, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, ग्यालेक्सी टेलिभिजन, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल प्रालि, ग्रिजी स्पान रेष्टुरेण्ट काठमाडौं, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्धपनि पीडितहरुले जाहेरी दिएका छन्।
त्यस्तै, पीडितहरुले ठगीमा संलग्न व्यक्तिहरू निकटका सहकारीविरुद्ध पनि जाहेरी हालेका छन्। पीडितहरुले सानो पाइला सहकारी विराटनगर, स्वर्णलक्ष्मी सहकारी काठमाडौं, सुप्रिम सहकारी बुटवल, सहारा सहकारी चितवन र समानता सहकारी नेपालगन्ज विरुद्धपनि जाहेरी दिएका छन्।
यी व्यक्ति तथा सहकारी र संस्थाहरूले सूर्यदर्शन सहकारीको रकम लगेर फिर्ता नगरेको जाहेरीमा उल्लेख छ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले पीडितहरुले लामिछानेसहित १८ जनाविरुद्ध उजुरी परेको बताए। उनले भने, ‘पीडितहरुले जाहेरी बुझाउनु भएको छ। जाहेरी परे लगत्तै अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको छ।’






















