images
images
  • तीन महिनादेखि लाइसेन्स छपाइ बन्द

    काठमाडौँ – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ ।

    एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्स सहितको कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि लाइसेन्स छपाइ ठप्प छ ।

    दैनिक रूपमा लाइसेन्स कार्यालयहरूले परीक्षा लिएर सवारी चालक अनुमति पत्रको छपाइका लागि प्रक्रिया पूरा गरिरहँदा सरकार भने सीमित सङ्ख्याको कार्डको उपलब्धताका कारण वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूलाई मात्रै कार्ड छापेर दिइरहेको छ । अन्य नियमित प्रक्रियाबाट लाइसेन्स पाउने आशा गरिरहेका थुप्रै सवारी चालकहरू लाइसेन्सविहीन छन् ।

    विभागका अनुसार जर्मनीको म्युहलबाअर कम्पनीले १२ लाख कार्ड आपूर्ति गर्ने गरी ३ महिनाअघि नै सम्झौता भएको छ।

    सबै प्रक्रिया सकेर करिब २५ दिनअघि जर्मन कम्पनीलाई कार्ड आपूर्ति गर्न ८५ दिनको समय दिइएको जनाइएको छ ।

    विभागले लाइसेन्स छपाइमा ढिलाइ भएपछि सवारी चालकहरूलाई एक वर्षका लागि क्युआर कोड सहितको अस्थायी लाइसेन्स दिने गरेको छ । तर, यस्तो एक वर्षको अवधि सकिँदासम्म पनि सरकारले लाइसेन्स छापेर दिन सकेको छैन । सरकारले लाइसेन्स छपाइमा चरम ढिलाइ गर्दा लाखौँ सवारी चालकहरू मर्कामा पर्दै आएका छन् ।

    छाप्न बाँकी कार्डको संख्या नै आपूर्ति हुन लागेको कार्डभन्दा बढी भएपछि विभाग अर्को चरणमा कार्ड आपूर्तिको ठेक्का गर्ने तयारीमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images