images
images
  • नेपालको आफ्नै अर्थनीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन् : अर्थमन्त्री महत

    काठमाडौं- अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग मिल्नै पर्छ भन्ने नभएकाे बताएका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आर्थिक र मौद्रिक नीतिमा दातृ निकायसँग नेपालको दृष्टिकोण मिल्नैपर्छ भन्ने नरहेको बताएका हुन्।

    “हामीले अवलम्बन गर्ने नीति र उहाँहरूको बुझाइ एउटै नहुन सक्छ । हामी आफ्नो विशिष्ट खालको नीति लिएर अगाडि बढ्नेमा उहाँहरू पनि सहमत हुनुहुन्छ”, मन्त्री महतले भने। दातृ निकाय र विकास साझेदारहरूले मौद्रिक नीतिमा हस्तक्षेप गरेको र नेपालको परिवेश नसुहाउने व्यवस्था जबर्जस्ती लागू गर्न खोजेको भन्ने आरोप निजी क्षेत्रले लगाउँदै आएको छ।

    चालु पुँजी कर्जा मार्गदर्शनलगायत व्यवस्थामा आईएमएफ हाबी भएको निजी क्षेत्रको बुझाइ छ। तर अर्थमन्त्री महतले भने कुनै पनि निर्णय नेपालको अवस्था र प्रकृति सुहाउँदो हुने भएकाले दातृ निकायले दिने सबै सुझाव र सर्त कार्यान्वयन गर्नैपर्छ भन्ने बाध्यता नरहने स्पष्ट पारे ।

    सहुलियतपूर्ण कर्जाका लागि विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकमा नेपालले आफ्ना आधार प्रस्तुत गरेको अर्थमन्त्री महतको भनाइ छ। त्यस्तै, गरिबी निवारणका क्षेत्रमा लगानी गर्ने र नयाँ खालका वित्तीय लगानीका उपकरण पहिचान गरेर लगानी गर्नेबारे छलफल भएको उनले बताए। माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले लगानी गर्न चाहेकोमा त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल भएको जनाइएको छ।

    अर्थतन्त्री महतले नेपालको अर्थतन्त्रलाई गति दिने विषयमा थप कुनै प्रयास थाल्नुपर्ने आवश्यकता महसुस भएमा सरकारले त्यसको निर्णय लिनसक्ने पनि बताए । केही दिनअघिमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक अवस्था सुधारका लागि सरकारले उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताएका थिए । यस्तो संयन्त्रबारे सरकारले कसरी तयारी गरिरहेको छ रु भन्ने प्रश्नको अर्थमन्त्री महतले अवस्था र परिवेश हेरेर निर्णय दिने बताएका हुन्।

    त्यस्तै अर्थतन्त्रमा अहिले देखिएको समस्या तत्काल देखिएको नभई लामो समयदेखिका समस्या थपिँदै गएर यस्तो अवस्थामा पुगेको अर्थमन्त्री महतको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images