images
images
  • सिसापाङ्मा हिमालमा हिमपहिरो: एक नेपालीसहित २ जनाको मृत्यु, कीर्तिमानी आरोही तेन्जेन बेपत्ता

    काठमाडौं- चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् ।

    यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तेन्जेन लामाले गएको साउनमा ९२ दिनमै विश्वका अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाएका छन् ।

    यस्तै हिम पहिरोमा परेर कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ, र कामिरी शेर्पा गम्भीर घाइते भएका छन् । सिसापाङ्मा हिमालमा हिजो शनिवार दिउँसो सात हजार छ सय मिटरमाथि हिमपहिरो गएको हो ।

    ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले कीर्तिमानी बनाएका थिए । पुर्जाको नाममा रहेको सो कीर्तिमान तेन्जेन र नर्वेजियन आरोही क्रिष्टिना हारिलाले यसै वर्ष मात्रै तोडेका थिए ।

    नेपाल पर्वतारोहण संघको सचिवालयका अनुसार तेन्जेन उनै कीर्तिमानी आरोही गाइड हुन्, जसले नर्वेजियन आरोही क्रिष्टिना हारिलासँग तीन महिना (९२ दिन)को अवधिमा संसारका ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरी छिटो यस्तो आरोहण गर्ने आरोहीको कीर्तिमान राख्न सफल भएका थिए । यो रेकर्ड २७ जुलाई २०२३ मा बनेको हो ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images