images
images
  • के हो इजरायल–प्यालेस्टाइन विवाद, जसले छेडिरहेछ पटक–पटक युद्ध ?

    काठमाडौं- प्यालेस्टाइनको सशस्त्र समूह हमासले अचानक आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमण थालेको छ । जसमा परेर आइतबार दिउँसोसम्ममा ६०० जना भन्दा धेरै नागरिकको मृत्यु भइसकेको छ ।

    हमासले गरेको आक्रमणमा परेर इजरायलमा ३०० जनाको मृत्यु भएको हो । इजरायली सेनाले गरेको हवाई आक्रमणमा परेर गाजा क्षेत्रमा ३१२ जना मारिएका प्यालेस्टाइनको दाबी छ ।
    हमास विद्रोहीहरुले १०० जनाभन्दा धेरै इजरायलीलाई बन्धक बनाएको आशंका गरिएको बीबीसीले जनाएको छ ।

    दुई पक्षबीच अहिले पनि लडाईं जारी छ । इजरायल र हमासबीचको यो युद्ध नयाँ भने होइन । उनीहरुबीच सन् १९९३ यता बारम्बार युद्ध हुँदै आएको छ । शताब्दी पुरानो कारणले इजरायल र प्यालेस्टाइनको सशस्त्र समूहबीच बारम्बार युद्ध चल्छ ।

    इजरायल र प्यालेस्टाइनबीचको विवाद बुझ्न १०० वर्षअगाडि फर्किनुपर्छ। अहिलेको इजरायल र प्यालेस्टाइन भएको क्षेत्र प्रथम विश्वयुद्ध अघि ओटोमन साम्राज्यद्वारा नियन्त्रित भूभाग थियो। भू–मध्यसागर र जोर्डन नदीबीचमा रहेको प्यालेस्टाइनको क्षेत्र मुस्लिम, यहुदी र इसाई धर्मावलम्बीले पवित्र भूमि मान्छन्। ओटोमन साम्राज्यद्वारा नियन्त्रित भए पनि अधिकतम क्षेत्र अरब र अन्य मुस्लिम समुदायद्वारा कब्जा गरिएको थियो।

    प्रथम विश्वयुद्धपछि मध्यपूर्वमा ओटोमन साम्राज्यको विघटन भयो र बेलायतले प्यालेस्टाइनको प्रशासनलाई नियन्त्रण गर्न ‘लिग अफ नेसन्स’बाट स्वीकृति प्राप्त ग¥यो। यो क्षेत्रलाई बेलायतले सन् १९१८ देखि १९४८ सम्म आफ्नो नियन्त्रणमा राखेको थियो।

    दोस्रो विश्वयुद्धका क्रममा हिटलरको नाजी शासनद्वारा युरोपभरि झण्डै ६० लाख यहुदी मारिए। बाँकी रहेका यहुदीले आफ्नो छुट्टै राज्यको माग गरे। त्यसपछि बेलायती शासकहरूले प्यालेस्टाइनमा यहुदीहरूका लागि छुट्टै भूमि बनाउने कुरा गरे।

    प्यालेस्टाइन क्षेत्रमा यहुदी र अरब समुदायका मानिसहरू बसोबास गर्थे। सुरक्षा खोज्दै यहुदीहरू प्यालेस्टाइन क्षेत्रमा आइपुगे। योसँगै त्यहाँ यहुदीको बाहुल्यता बढ्यो।

    यहुदीहरूले यस क्षेत्रलाई आफ्ना पुर्खाहरूको भूमि मान्छन्। अरब समुदायले पनि यस्तै दाबी गर्छ। फलस्वरूप त्यहाँ दुवैबीच तनाव बढ्न थाल्यो। सन् १९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई दुई भागमा विभाजन गर्ने निर्णयलाई अनुमोदन ग¥यो। त्यसमध्ये एक भाग यहुदीहरूको लागि भयो, अर्को अरब समुदायहरूको लागि। जेरुसेलमलाई अन्तर्राष्ट्रिय शहर घोषणा गरियो।

    यो योजनालाई यहुदी नेताहरूले स्वीकार गरे, तर अरब पक्ष भने मान्न तयार भएन। तत्कालीन बेलायती शासकहरू समस्या समाधान गर्न असफल भएपछि त्यत्तिकै छाडेर गए।

    अन्ततः १९४८ मे १४ मा यहुदी नेताहरूले इजरायल राज्यको गठन गरेको घोषणा गरे। इजरायलको गठनसँगै स्थानीय तनाव क्षेत्रीय विवादमा परिणत भयो। भोलिपल्टै इजिप्ट, जोर्डन, सिरिया र इराकले यस क्षेत्रमा आक्रमण गरे। यो पहिलो अरब–इजरायल युद्ध थियो। यसलाई यहुदीहरूको ‘स्वतन्त्रता संग्राम’ पनि भन्ने गरिन्छ।
    त्यतिबेला प्यालेस्टिनीहरूमा त्रासदी बढ्न थाल्यो। उनीहरू यहुदी सशस्त्र सेनाहरूको दमनमा परे। साढे सात लाख प्यालेस्टिनीहरू छिमेकी देशहरूमा शरण लिन पुगे।

    यो युद्धको अन्त्यपछि, संयुक्त राष्ट्रसंघले अरब राष्ट्रका लागि आधा भूमि आरक्षित ग¥यो। प्यालेस्टाइन क्षेत्र इजरायल, वेस्ट बैंक र गाजा स्ट्रिप गरी तीन भागमा विभाजित भयो। प्यालेस्टिनीहरू गाजा र वेस्ट बैंकमा बस्न थाले। यी दुई भूमि एकअर्कासँग जोडिएका छैनन्। बीचमा इजरायलको भूमिले छुट्याएको छ। प्यालेस्टाइनका यी दुई क्षेत्र ४५ किलोमिटरको दूरीमा छन्। वेस्ट बैंकको क्षेत्रफल ५ हजार ९७० वर्ग किलोमिटर र गाजा पट्टीको क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ।

    फेरि सन् १९६७ मा इजरायल र अरब मुलुकबीच युद्ध भयो। यहुदी र अरबबीच ६ दिनसम्म (जुन ५–११) चलेको उक्त युद्धमा इजरायलले अरब राष्ट्रहरूको सैन्य गठबन्धनमाथि विजय हासिल ग¥यो। गाजा पट्टी, इजिप्टको सिनाई प्रायद्वीप, जोर्डनबाट पूर्वी जेरुसेलमसहित वेस्ट बैंक र सिरियाबाट गोलान हाइट्स आफ्नो नियन्त्रणमा ल्यायो। त्यतिबेला पनि ५० हजारभन्दा धेरै प्यालेस्टिनी विस्थापित भए।

    त्यहीबेला हो प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ)ले लेबनानमा आश्रय लिएर इजरायलमाथि आक्रमण गरेको। त्यसले निम्त्याएको इजरायल–लेबनान युद्धपछि लेबनानमा संयुक्त राष्ट्रसंघीय सैन्य मिसन स्थापना भयो, जो अहिले पनि यथावत छ। इजरायलका लागि लेबनानको विद्रोही सैन्य संगठन (अहिले राजनीतिक दलसमेत बनिसकेको) हिज्बुल्लाह अर्को टाउको दुखाइ बनेको छ, जसले दक्षिणी लेबनानबाट बेलाबेला इजरायलमा आक्रमण गरिरहन्छ।

    त्यसपछि इजरायलले जेरुसेलम आफ्नो क्षेत्र भएको दाबी गर्न थाल्यो। तर अन्तर्राष्ट्रियस्तरमा यसलाई मान्यता दिइएको छैन। प्यालेस्टिनी पक्ष पनि पूर्वी जेरुसेलमलाई आफ्नो राजधानी बनाउन चाहन्छ। त्यसैले इजरायल–प्यालेस्टाइन द्वन्द्वको मुख्य कारण जेरुसेलमलाई पनि मानिन्छ।

    इजरायलले कब्जा गरेको भूमिमा यहुदी बस्ती स्थापना गरेको छ। यी बस्ती अन्तर्राष्ट्रिय कानूनअनुसार गैरकानूनी छन्। वेस्ट बैंक र पूर्वी जेरुसेलमका यी बस्तीहरूमा आधा लाखभन्दा बढी यहुदीहरू बस्छन्। तर इजरायलले भने ती बस्ती आफूले वैधरूपमा स्थापना गरेको दाबी गर्छ।

    प्यालेस्टिनीहरूले अरब–इजरायल युद्धअघिको अवस्थाअनुसार आफ्नो सीमा निर्धारण गर्नुपर्ने माग राख्दै आएका छन्। तर इजरायलले त्यसलाई अस्वीकार गर्दै आएको छ।

    प्यालेस्टिनी शरणार्थीहरूको संख्या एक करोडभन्दा बढी रहेको प्यालेस्टिनी मुक्ति संगठन (पीएलओ)ले जनाएको छ। यीमध्ये आधा संयुक्त राष्ट्रसंघमा दर्ता भएका छन्। प्यालेस्टिनीहरू ती शरणार्थीलाई आफ्नो भूमिमा फर्कन पाउने अधिकार भएको बताउँछन्। तर तिनीहरूले जुन भूमिको बारेमा कुरा गरिरहेका छन्, त्यो आजको इजरायलमा पर्छ।

    इजरायल आजको विश्वमा शक्तिशाली राष्ट्र मानिन्छ भने, प्यालेस्टाइन अझै आफ्नो मान्यता प्राप्त गर्न संघर्षरत नै छ। प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये १३९ राष्ट्रले मान्यता दिएका छन्। प्यालेस्टाइनले सन् २०१२ देखि संयुक्त राष्ट्र संघमा गैर–सदस्य पर्यवेक्षक राष्ट्रको हैसियत पाएको हो।

    सन् १९९३ मा इजरायलका तत्कालीन प्रधानमन्त्री यित्जाक राबिन र पीएलओका नेता यासेर अराफातले स्वतन्त्र प्यालेस्टाइन राज्यको निर्माण गर्न ओश्लो शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताले प्योलेस्टिनी नेसनल अथोरिटी (पीएनए÷पीए)को गठन गरेको थियो। प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण आधिकारिक रूपमा प्यालेस्टिनी राज्यको रूपमा चिनिन्छ।

    प्यालेस्टिनी प्राधिकरणले गाजा र वेस्ट बैंकको प्रशासन पाँच वर्षको लागि गठन गरेको थियो। यस अवधिमा स्थायी सहमतिका लागि वार्ता हुनुपर्ने थियो। तर विभिन्न विवादका कारण अहिलेसम्म पनि वार्ता हुन सकेको छैन। त्यहाँ प्यालेस्टिनी प्रशासन भने अझै कायम छ।

    अहिलेको अवस्थामा दुई पक्षबीच जेरुसेलम, सिमाना र भूमि, यहुदी बसोबास तथा प्यालेस्टिनी शरणार्थीको मुद्दामा विवाद छ। कब्जा गरिएको प्यालेस्टिनी क्षेत्र फिर्ता गर्न सशस्त्र संगठन हमासले इजरायलमा हमला गरिरहन्छ।

    के हो हमास ?

    हमास प्यालेस्टाइनको सबैभन्दा ठूलो सशस्त्र समूह हो । इस्लाममा हमासको अर्थ प्रतिरोधको आन्दोलन हुन्छ । यो समूह सन् १९८८ मा खडा भएको थियो ।

    इजरायलले वेस्टबैंक तथा गाजा स्ट्रिपमा कब्जा गरेपछि त्यसको प्रतिरोधका लागि यो समूह खडा भएको हो । इजरायललाई ध्वस्त बनाउनु नै यो समूहको प्रतिबद्धता हो ।

    हमास दुईवटा उद्देश्यका साथ गठन गरिएको थियो ।

    पहिलो– इजरायल विरुद्ध सशस्त्र संघर्ष गर्न

    र दोस्रो– सामाजिक कल्याणका कार्यक्रम सञ्चालन गर्न ।

    हमासले सैन्य रुपमा राजनीतिक गतिविधिका लागि इज्जेदिन अल कसिम ब्रिगेड गठन गरेको थियो ।

    गाजाबाट इजरायली सेना फिर्तीका लागि हमास निकै लड्यो ।

    सन् २००५ मा इजरायलले त्यहाँबाट सेना फिर्ता गरेसँगै हमास प्यालेस्टाइनको राजनीतिक प्रक्रियामा सामेल भयो ।

    सन् २००६ मा त्यहाँको संसदीय निर्वाचनमा हमास विजयी भयो । चुनावमा विजयी भएसँगै हमासले आन्दोलनका विरोधी राष्ट्रपति महम्मुद अब्बासलाई वैधानिक रुपमै सत्ताच्युत गराएर गाजामा आफ्नो शक्ति विस्तार ग¥यो ।

    हमासले गाजामा आफ्नो शक्ति फैलाएसँगै त्यस समूहले इजरायलसँगै चारवटा द्वन्द्वको सामना गरेको छ ।

    इजिप्टले पनि हमासलाई एक्ल्याउन र उसको हमला रोक्नका लागि कडा नाकाबन्दी गर्दै इजरायलको साथ दिइरहेको छ ।

    हमासलाई पश्चिमा गठबन्धनमा आवद्ध मुलुकले आतंककारी भन्छन् । उनीहरु आफूलाई स्वतन्त्रताको लागि लड्ने समूह बताउँछन् ।

    सन् १९९० मा प्यालेस्टाइन समूहले ओस्लो शान्ति सम्झौतालाई नमान्ने घोषणा ग¥यो । अधिकांश प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने प्यालेस्टाइन मुक्ति संस्था र इजरायलबीचको सम्झौताको विरुद्धमा एक समूह खडा भयो ।

    हमासविरुद्ध प्यालेस्टाइन अधिकारीको कठोर नीति र इजरायली अपरेशनका बाबजुद यो समूह डगमगाएन । त्यस समूहले आत्मघाती हमलाको बाटो रोज्यो ।

    यस सम्झौताको विरोधमा हमासले इजरायलका विभिन्न ठाउँमा दर्जनौं आत्मघाती हमला गरायो । सन् २००० पछि हमास झन् शक्तिशाली हुँदै आयो ।

    प्यालेस्टाइन सरकारसँग असन्तुष्टहरुलाई सेवा दिन उसले अस्पताल र स्कुल सञ्चालनमा ल्यायो । विस्तारै, हमासले आफ्नो युद्ध नीति पनि परिवर्तन गर्न थाल्यो । आत्मघाती विस्फोटमा आफ्नै धेरै क्षति बढेको र त्यसका बाबजुद पनि इजरायलले वेस्टबैंक नछोडेपछि उनीहरुले केही नीति परिवर्तन गरे ।

    सन् २००६ को निर्वाचनमा पनि हमासले संसदमा बहुमत ल्यायो । हमासले प्यालेस्टाइनसँग विगतका सरकारले गरेको सबै सम्झौता खारेज हुने घोषणा मात्रै गरेन इजरायलले प्यालेस्टाइन भूमि हिंसात्मक ढंगले लिन खोजेको वैधता कहिल्यै स्वीकार्य नहुने बतायो ।

    मोहम्मद डेफले इजरायल विरुद्ध हमासको आक्रमणको यो पहिलो कदम भएको बताएका छन् । हामी दुश्मनलाई अल–अक्सा मस्जिद विरुद्ध आक्रामकता नदेखाउन चेतावनी दिन्छौं। शत्रु विरुद्ध कारबाही हुनेछ। हमासले वेस्ट बैंकमा बस्ने प्यालेस्टाइनीहरूलाई बिना डर इजरायलमा आक्रमण गर्न आग्रह गरेको छ। उनले जनतालाई उक्साएर सडकमा आउन र आक्रमण सुरु गर्न आग्रह गरेका छन् ।

    इजरेलले गाजाको सीमा क्षेत्रका सहरहरू चौबीस घण्टाभित्र खाली गराउने
    इजरेली सेनाले गाजाको सीमा नजिकका सहरहरूमा बस्ने सबै बासिन्दाहरूलाई आगामी चौबीस घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सारिने बताएको छ।

    उसका अनुसार प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको हो।

    दक्षिणी इजरेलका विभिन्न क्षेत्रमा दोस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ र त्यहाँ चार सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरेली सेनाले जनाएको छ।

    गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरेलले गरेको हवाई हमलामा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन्।

    हिजबुल्लाह समूहले तीनवटा इजरेली चौकीमा रकेट आक्रमण गरेपछि इजरेली सेनाले लेबननमा पनि आक्रमण गरेको छ।

    इजरेलले उक्त आक्रमणमा आफ्ना कम्तीमा तीन सय नागरिकहरू मारिएको र एक हजारभन्दा बढी घाइते भएको बताएको छ।

    कति इजरेलीहरूलाई हमास लडाकुहरूले बन्धक बनाएका छन् भन्ने अझै स्पष्ट भएको छैन।

    संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आइतवार आपत्कालीन बैठक बस्दै छ। त्यसमा उक्त सङ्कटबारे छलफल हुनेछ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सबै खाले उपयुक्त माध्यमबाट सहयोग गर्ने प्रस्ताव गरेका छन्।

    अहिलेसम्म के–के भयो?
    स्थानीय सञ्चारमाध्यमका अनुसार इजरेली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरेलका कैयौँ भागहरूमा लडाइँ जारी छ।

    इजरेयली सेनालाई उद्धृत गर्दै आएका समाचारहरू अनुसार उसले देशको दक्षिणी भागका धेरैजसो क्षेत्रहरू हमासको कब्जाबाट फिर्ता ल्याउन सफल भएको छ र गाजाको सीमा नजिक लडाइँ जारी छ।

    ब्रिटेनस्थित इजरेली दूतावासले एकजना ब्रिटिश नागरिक बेपत्ता भएको पुष्टि गरेको छ। उनी गाजाको सीमा नजिकै नृत्य महोत्सवमा सुरक्षाकर्मीका रूपमा काम गरिरहेका थिए र त्यसै बेला त्यहाँ आक्रमण भएको थियो।

    दक्षिणी इजरेल र गाजा क्षेत्रमा ४०० भन्दा बढी प्यालेस्टिनी लडाकुहरू मारिएका र दर्जनौँलाई नियन्त्रणमा लिइएको आईडीएफका प्रवक्ताले टाइम्स अफ इजरेललाई बताएका छन्।

    हालसम्म कम्तीमा ३०० इजरेलीहरू मारिएका छन् र दर्जनौँ अपहरणमा परेका छन्। टर्कीस्थित इजरेलको दूतावासले आफ्नो देशको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।
    इजरेली हवाई हमलामा गाजा स्ट्रिपमा कम्तीमा ३१३ व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

    इजरेली अधिकारीहरूले देश “अझै युद्धमा रहेको“ र अझै पनि इजरेली क्षेत्रलाई हमासको कब्जाबाट पूर्ण नियन्त्रण लिने प्रयास गरिरहेको बताएका छन्।

    इजरेलमा अध्ययन तथा सिकाइका लागि गएका १२ जना नेपाली विद्यार्थीहरू पनि सम्पर्क विहीन भएको नेपालका परराष्ट्रमन्त्रीले संसद्लाई जानकारी गराएका छन्।

    गाजा नजिकैको इजरेली भूमिस्थित एउटा कृषि फर्ममा कार्यरत १७ जना नेपालीमध्ये तीन जना घाइते भएको र दुई जना सुरक्षित रहेको तर १२ जना सम्पर्कविहीन भएको जानकारी उनले दिएका हुन्।
    केही नेपालीहरू पनि उक्त द्वन्द्वमा परेर हताहत भएको हुनसक्ने नेपालको परराष्ट्र मन्त्रालयको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images