काठमाडौं- अफगानिस्तानमा गएको भूकम्पमा एकसय जनाभन्दा बढीको मृत्यु भएको छ। शनिवार आएको भूकम्पमा परी ५ सयभन्दा बढी घाइते भएका छन्।
समाचार संस्था बीबीसीका अनुसार स्थानीय समय अनुसार हेरात शनिवार मध्याह्न ६.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।भूकम्पमा परी हालसम्म १ सय २० जनाको मृत्यु भइसकेको छ।
भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर–पश्चिममा थियो। भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित बनेको बताइएको छ।
अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले सय जनाको मृत्यु भएको पुष्टि गरेको छ भने संयुक्त राष्ट्र सङ्घले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएको छ।
हेरात इरानसँगको सीमाबाट १२० किलोमिटर (७५ माइल) पूर्वमा अवस्थित छ र यसलाई अफगानिस्तानको सांस्कृतिक राजधानी मानिन्छ। विश्व बैंकको सन् २०१९ को तथ्याङ्कअनुसार प्रान्तमा १९ लाख मानिस बसोबास गर्ने अनुमान गरिएको छ।
अफगानिस्तान बारम्बार भूकम्पबाट प्रभावित हुन्छ। गत वर्षको जुन महिनामा पाक्टिका प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट १ हजारभन्दा बढीको ज्यान गएको थियो भने हजारौं घरबारविहीन भएका थिए। -एजेन्सी


विश्व खबर 


















