काठमाडौं- सरकार र व्यवसायीबीच भाडादर समायोजनको विषयमा सहमति जुट्न नसक्दा दसैँका लागि हुने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन । घटस्थापना आउन १२ दिन मात्रै बाँकी हुँदा पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला अन्योलमा परेको हो ।
आगामी ७ कात्तिकमा हिन्दू नेपालीहरूको पर्व विजयादशमी छ । त्योसहित आगामी तिहार र छठ पर्व मान्न काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरू बाहिरिन्छन् । विशेष गरी घटस्थापना (२८ असोज)पछि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढ्छ । तर, घटस्थापना नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ खुल्न नसकेको हो ।
अग्रिम टिकटका लागि ५ असोजमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा कार्यदल बनेको थियो । त्यो कार्यदलले एक हप्ता अर्थात् १३ असोजभित्र अध्ययन प्रतिवेदन भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउने र त्यसकै आधारमा अग्रिम टिकट बुकिङ खुला गर्नेलगायत कार्ययोजना थियो । तर, व्यवसायी र सरकारबीच सहमति जुट्न नसक्दा उक्त कार्यदलले पनि प्रतिवेदन तयार गर्न सकेको छैन ।
अग्रिम टिकट खुलाउनुअघि यातायात व्यवसायीले दुइटा माग अघि सारेका छन् । घटस्थापनाअघि राष्ट्रिय राजमार्गहरू मर्मत–सम्भार भइसक्नुपर्ने उनीहरूको पहिलो माग छ । स्तरोन्नतिमा गएका नागढुंगा–नौबिसे–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–पोखरा, कमला–कञ्चनपुर, ढल्केबर–कोशी ब्यारेजलगायतका राष्ट्रिय राजमार्गमा निकै खाल्डाखुल्डी छन् । यसका अलावा अन्य सडकहरूमा पनि पहिरो गएको तथा खाल्डाखुल्डी छन् । यसले गर्दा तीन घन्टाको बाटोमा नौ घन्टासम्म यात्रा गर्नुपर्ने र टिकट बुकिङको समयतालिकाअनुसार समयमै सेवा दिन नसकिने व्यवसायीको भनाइ छ ।
तसर्थ, दसैँको यात्रालाई समयमै र सहज बनाउन तत्काल उक्त सडकहरू ममर्त–सम्भार गर्नुपर्ने माग छ । अन्यथा उक्त खण्डहरूलाई कच्ची सडक भनेर वर्गीकरण गरी सोहीअनुसार भाडादर तोक्नुपर्ने उनीहरूको माग छ ।
साथै, सार्वजनिक यातायातको भाडादर पनि समायोजन गर्नैपर्ने व्यवसायीको प्रमुख माग छ । दुई वर्षयता सार्वजनिक भाडाको दर समायोजन हुन सकेको छैन । हरेक वर्ष चैत मसान्तभित्र सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्छ । तर, असार ०७८ यता त्योअनुसार भाडा समायोजन भएको छैन । त्यो अवस्था तत्काल भाडा समायोजनको प्रतिबद्धता सरकारबाट आउनुपर्ने राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । उक्त माग सम्बोधन भएपछि मात्रै अग्रिम टिकट बुकिङ खुलाउने व्यवसायीको अडान छ ।
यता सरकार भने महँगीमा यातायातको भाडा बढाएर यात्रुलाई थप मर्का नपार्ने योजनामा छ । त्यसैले यातायात व्यवस्था विभागले भाडादर समायोजन गर्ने विषयमा व्यवसायीलाई कुनै जवाफ दिएको छैन । ‘यातायात व्यवसायीहरू आफ्नो माग सम्बोधन नभएसम्म बैठकमै आउन मान्नुभएको छैन । त्यसले गर्दा कार्यदलले आफ्ना काम पूरा गर्न सकेको छैन,’ यातायात व्यवस्था विभागका एक अधिकारीले भने, ‘यद्यपि, मंगलबार एक अनौपचारिक बैठक भएको थियो । तर, त्यो निष्कर्षमा पुग्न सकेन । समग्रमा हामी यो मन्दीमा भाडादर नबढाउने अडानमा छौँ । यो कुरा व्यवसायी साथीहरूले पनि बुझ्नुपर्छ ।’
यता, राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष स्वाँरले भने भाडादर समायोजनको प्रतिबद्धता सरकारबाट आउनुपर्ने बताए । ‘सरकारले गत चैत मसान्तभित्र नै भाडादर समायोजन गर्नुपर्ने हो । तर, अझै भएको छैन । यही दसैँमा भाडादर समायोजन हुनुपर्छ भन्ने होइन,’ उनले भने, ‘तर, भाडादर समायोजन गर्ने प्रतिबद्धता सरकारबाट आउनुपर्छ । साथै, सडकहरू पनि समयमै मर्मत–सम्भार हुनुपर्छ । त्यसपछि हामी अग्रिम टिकट बुकिङ खुलाउन तयार छौँ ।’
असोज २५ सम्म अग्रिम बुकिङ खुल्ने आशा
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले २५ असोजसम्म अग्रिम टिकट बुकिङ खुला हुन सक्ने बताए । काठमाडौंबाट बाहिरिने यात्रुको संख्या २८ असोजपछि उच्च हुन्छ । त्यसको तीन–चार दिनअघि अग्रिम बुकिङ खुला गर्दा पनि यात्रु व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । ‘हामी यातायात व्यवसायीहरूलाई मनाउने (कन्भिन्स) गर्ने काम गरिरहेका छौँ ।
तर, उहाँहरू कन्भिन्स भइसक्नुभएको छैन । हामी छलफलमै छौँ,’ उनले भने, ‘आशा छ, असोज २५ गतेसम्म अग्रिम टिकट बुकिङ खुला हुन्छ ।’ -आजको नयाँ पत्रिकाबाट


विश्व खबर 


















