काठमाडौं- काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
प्रहरीले भने पक्राउ पर्नेको नाम र घटनाको कारण सार्वजनिक गरेको छैन ।
तीनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा एकैपरिवारका तीनसहित चार जनाको शव भेटिएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा ७५ वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई थिए ।
उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट थियो ।
यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले यसअघि २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थियो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको थियो ।


विश्व खबर 



















