काठमाडौं- नेपाली क्रिकेटको सबैभन्दा ठुलो सुन्दर पक्ष भनेकै समर्थक हुन् । चाहे त्यो कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा होस् या मुल्तानदेखि पालेकेल अन्तर्राष्ट्रिय रंगशालामा होस् किन नहोस्, दर्शकको ओइरो लाग्छ । क्रिकेट भनेपछि हुरुक्कै हुने दर्शक नेपाली क्रिकेटको सबैभन्दा ठुलो शक्ति पनि हो ।
यस्तै दृष्य सोमबार श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय रंगशालामा देखिएको छ । निरन्तर भारी वर्षा हुँदा पनि प्रवाह नगरी छाता ओढेर खेल सुरु हुने क्षणको प्रतीक्षा गरिरहे । राष्ट्रिय झण्डा बोकेर रंगशाला पुगेका दर्शकहरू झरीमा रुझ्दै एकतमासले नेपालको पक्षमा नारा लगाइरहे।
क्रिकेट भनेपछि हुरुक्कै हुने नेपाली दर्शकको यो धैर्यताले अन्र्तराट्रिय मिडीयाको नजर तानेको छ । विश्वका क्रिकेटप्रेमीहरुको मन जितेको छ ।
नेपाली समर्थक आफ्ना खेलाडीको हौसला बढाउन विदेशी भूमिसम्म धाउने परम्परा सुरु भएको छ ।
अहिले श्रीलङ्का र पाकिस्तानमा एसिया कप आयोजना भइरहेको छ । नेपालले एसिया कपमा मुल्तानसँग पहिलो खेल खेल्दा पनि नेपालबाट केही समर्थक आफ्नो टोलीको हौसला बढाउन पाकिस्तान पुगेका थिए ।
सोमबार नेपालले एसिया कपमा बलियो भारतसँग दोस्रो खेल खेल्यो । त्यो खेल श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय रंगशालामा भएको थियो । त्यो खेलमा त झनै आफ्ना खेलाडीको हौसला बढाउन नेपालबाट सैयौँको सङ्ख्यामा समर्थक श्रीलङ्का पुगेका थिए ।
नेपाल र भारतबीचको त्यो खेल पटक—पटक वर्षाका कारण अवरुद्ध हुन पुग्यो । तर, नेपाली समर्थकले भने आफ्ना खेलाडीको पक्षमा निरन्तर हुटिङ गरिरहे ।
त्यसपछि नेपाली समर्थकको त्यो व्यवहारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान पनि आफूतर्फ तान्यो । आफ्नो देश र खेलाडीप्रति नेपाली समर्थकको यो हदसम्मको मायाले विभिन्न सञ्चारमाध्यममा पनि स्थान पायो ।
‘सायद, यसअघि यस्तो दृश्य भारतमा मात्र देखिन्थ्यो तर, आज आफ्नो टोलीप्रति नेपाली क्रिकेट समर्थकको माया देखेर गजब लाग्यो,’ विश्व चर्चित क्रिकेट पोर्टल क्रिकइन्फोको समाचारमा भनिएको छ ।
आफूभन्दा निकै बलियो टोली भारतसँग खेल्दा टोलीको हौसला बढाउन नेपाली समर्थक राष्ट्रिय झण्डासहित रंगशाला पुगेको र खेल अवधिभर नेपाली समर्थकले एकोहोरो आफ्ना खेलाडीको मनोबल बढाउन हुटिङ गरिरहेको समाचारमा जनाइएको छ ।
‘दुई सयभन्दा बढी नेपाली समर्थक हातमा राष्ट्रिय झण्डा बोकेर अनि गालामा नेपालको नक्सा बनाएर रंगशालामा छरिएर बसेका थिए । न त वर्षाले उनीहरूलाई डराउन सक्यो न त प्रतिकूल अवस्थाले । उनीहरू एकतमासले आफ्ना खेलाडीको हौसला बढाइरहेका थिए । त्यो गजबको दृश्य थियो,’ समाचारमा भनिएको छ ।
समाचारमा एकजना ४५ वर्षीय समर्थकको विषयमा पनि उल्लेख गरिएको छ । तर, उनको नाम भने खुलाइएको छैन ।
‘एकजना ४५ वर्षजतिका नेपाली समर्थक निकै अधैर्य देखिन्थे । उनी एकोहोरो नारा लगाइरहेका थिए । उनको जोश देख्दा लाग्थ्यो ४५ वर्षको नभई उनी भर्खर ११ वर्ष पुगेका छन् । ती सबै समर्थक लामो यात्रा गरेर नेपालबाट श्रीलङ्कासम्म पुगेका थिए ।’
यसैगरी नेपालको एक विद्यालयबाट शैक्षिक भ्रमणका क्रममा श्रीलङ्का पुगेको टोली पनि आफ्ना खेलाडीको हौसला बढाउन केही दिन केन्डीमा रोकिएको समाचारमा जनाइएको छ । ‘हामी शैक्षिक भ्रमणका लागि विद्यार्थीलाई लिएर श्रीलङ्का आएका थियौँ । तर, भाग्यवश हामीले आफ्नो देशले भारतसँग क्रिकेट खेलेको ऐतिहासिक क्षणको साक्षी बन्ने अवसर पायौँ,’ नेपालको राजश्री गुरुकुल विद्यालयका शिक्षक रजिम ढुङ्गेलले भनेका छन् ।
नेपाली समर्थकको आफ्नो टोलीलाई समर्थन गर्ने रमाइलो शैलीको बारेमा पनि समाचारमा उल्लेख गरिएको छ । समाचारमा भनिएको छ, ‘नेपाली समर्थकहरू राष्ट्रिय झण्डा फह¥याउँदै नेपथ्य ब्यान्डको चर्चित गीत रातो र चन्द्र सूर्य अनि यूट्यूबमा दुई करोडभन्दा बढी पटक हेरिएको कुटुमा कुटुजस्ता गीत गाइरहेका थिए । त्यतिबेला बलियो भारतविरुद्घ नेपालले नौ ओभरमा कुनै पनि विकेट नगुमाई ५३ रन बनाएको थियो । त्यसले उनीहरूको हौसला झनै बढाएको थियो ।’


विश्व खबर 
















