images
images
  • तस्करीको सुन ६० किलो ७१६ ग्राम मात्रै, ३४ वटा बिस्कुट आकारमा बनाइयो

    काठमाडौं- टक्सार विभागमा गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम रहेको छ ।

    आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोख्न थालिएको थियो ।

    आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्नको लागि जोखिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

    “हंगामा मच्चाएको सुन तस्करी काण्डमा हामीले ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको थियो,” आचार्यले भने, “आज गालेर सकिएको छ । ६० किलो ७१६ ग्राम तौल आएको छ । ३४ वटा बिस्कुट बनेका छन् ।”
    गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो । त्यसैअनुसार सुन घटेको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए ।

    भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

    सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images