images
images
  • एनआरएनए महाधिवेशन: प्रतिनिधि दर्ता सुरु, नेतृत्व गर्न आधा दर्जन बढी इच्छुक

    काठमाडौं-  गैरआवासीय नेपाली संघ (एनआरएनए) ११औँ विश्व सम्मेलन(महाधिवेशन) मा जुटेको छ । असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म हुने सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिँदैछ । केन्द्रीय नेतृत्व चयन गर्न प्रतिनिधि दर्ता पनि शुरु भएको छ ।

    गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा अगस्त २६ तारिखसम्म संघका पूर्व पदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एपमार्फत आफ्नो प्रतिनिधि दाबी गर्न पाउने छन् । बाँकी १० प्रतिशत प्रतिनिधि संघको विधान अनुरुप संघको राष्ट्रिय समितिको कार्यसमितिको सिफारिशमा अगस्त ३० तारिखसम्म केन्द्रमा पठाउनु पर्नेछ । आवेदन दिने र छनोट प्रकृयामा गत वर्ष भन्दा केही फरक बनाइएको छ ।

    संघले विज्ञप्ति जारी गर्दै ८७ मुलुकमा राष्ट्रिय समन्वय परिषद् स्थापना गरिएको जनाएको छ । विश्वभरबाट ९६ हजार ८ सय ५० पन्जिकृत सदस्य संघमा आबद्ध भएको पनि संघले जनाएको छ । सम्मेलनमा ५९ देशका करिब ४२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । प्रतिनिधिहरुको अन्तिम नामावली अगस्त ३१ तारिखमा प्रकाशन गरिनेछ ।

    प्रतिनिधिहरुको नाम दर्ता गैरआवासीय नेपाली संघको संशोधित विधान २०२२ को दफा १३.७, अनुसूची ६ र ६ क र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ब्यवस्थानपन नियमावलीमा व्यवस्था भए बमोजिम हुने सचिवालयले जनाएको छ ।

    गैरआवासीय नेपाली संघको विधान २०२२ को दफा २४.१ मा ३१ जुलाई भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र विधानको दफा १३.७ मा उल्लेखित अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको तोकिएको विवरण ३१ अगष्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालयमा पेश गर्नुपर्ने पनि सचिबलायले जारी गरेको सूचनामा उल्लेख छ । महाधिवेशनमा ६४ पदको लागि निर्वाचन गर्ने संघको तयारी रहेको छ ।

    एनआरएनए आगामी नेतृत्वका लागि डा.बद्री केसी, डा.केशब पौडेल, महेश श्रेष्ठ, डा.हेम राज शर्मा, रविना थापा, सुनिल शाह र आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा बुद्धिसागर सुवेदीले शनिबार साँझ उम्मेदवारी घोषणा गरेका छन् । पारसमणि पोखरेल र गौरीराज जोशीले पनि महासचिबमा इच्छा देखाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images