images
images
  • साढे ४६ प्रतिशतले बढ्यो बैंकहरूको ब्याज आम्दानी , नबिल र ग्लोबल आईएमईबीच प्रतिस्पर्धा

    काठमाडौं- वाणिज्य बैंकहरूको ब्याज आम्दानीमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकहरुको खुद ब्याज आम्दानी करिब ५० प्रतिशतले वृद्धि भएको छ ।

    पछिल्लो समय बैंकहरूले ब्याजदर बढाएको भन्दै व्यवसायी असन्तुष्ट छन । बैंकको ब्याजदर महँगो भएकै कारण अहिले व्यवसाय चलायमान हुन नसकेको भन्ने पनि व्यवसायीको आरोप छ । यसबीचमा बैंकहरुको ब्याज आम्दानी बढेको तथ्याँक सार्वजनिक भएको हो ।

    बैंकहरूको आम्दानीको मुख्य स्रोत नै ब्याज आम्दानी हो । निक्षेप संकलन गर्ने र त्यो निक्षेपलाई विभिन्न परियोजनामा कर्जा लगानी गरी बैंकहरूले आम्दानी गर्ने गरेका छन । यसरी मुख्य आम्दानीको रूपमा रहेको खुद ब्याज आम्दानीबाट २० वटा वाणिज्य बैंकले गत आर्थिक वर्षमा एक खर्ब ८७ अर्ब चार करोड ३१ लाख रुपैयाँ आम्दानी गरेका छन । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.५४ प्रतिशतले बढी हो ।

    यसरी खुद ब्याज आम्दानीमा उलेख्य वृद्धि भएपछि बैंकहरूको खराब कर्जा बढेको भए पनि नाफामा ठूलो असर नदेखिएको हो । बैंकहरूले प्रकाशन गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो वर्ष वाणिज्य बैंकहरूले एक खर्ब २८ अर्ब ८५ करोड पाँच लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

    गत वर्ष सबैभन्दा बढी खुद ब्याज आम्दानी नबिल बैंकले गरेको छ । यो बैंकले १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । तर, प्रतिशतको हिसाबमा बढी खुद ब्याज आम्दनी वृद्धि गर्नेमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यो बैंकले गत वर्षको तुलनामा खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले वृद्धि गरेको छ ।

    २० वटा वाणिज्य बैंकमध्ये कृषि विकास बैंकको मात्र खुद ब्याज आम्दानी गत वर्ष घटेको छ । यो बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेको हो । अघिल्लो वर्ष आठ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो बैंकले गत वर्ष आठ अर्ब आठ करोड चार लाख रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ ।

    Bank aamdaani

    नबिल र ग्लोबल आईएमईबीच तीव्र व्यावसायिक प्रतिस्पर्धा
    व्यवसायका हिसाबले दुई ठुला बैंक ‘नबिल’ र ‘ग्लोबल आईएमई’ बीच नै तीव्र प्रतिस्पर्धा देखिएको छ । आर्थिक वर्षको अन्तसम्ममा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ बढी नाफा कमाएर शीर्ष स्थानमा रहन सफल नबिल बैंकलाई ग्लोबल आईएमई बैंकले पच्छ्याइरहेको छ । समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    गत वर्ष ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकलाई यस वर्ष नबिल बैंकले ७६.८६ प्रतिशत अर्थात ३ अर्ब २७ करोड ११ लाख २५ हजार रुपैयाँले नाफा वृद्धि गर्दै ग्लोबल आईएमई बैंकलाई उछिनेको हो । आर्थिक वर्ष २०७८.७९ मा नबिल बैंकले जम्मा ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

    यस्तै, यस वर्ष पनि आफ्नो तेस्रो र चौथो स्थान कायम गर्दै राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले क्रमशः ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार रुपैयाँ र ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन । अघिल्लो आर्थिक वर्ष वाणिज्य बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ नाफा कमाउँदा एनआईसी एशिया बैंकले ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकहरूले क्रमशः १४.५४ प्रतिशत र १०.३५ प्रतिशतले नाफा वृद्धि गरेका हुन ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images