काठमाडौं- बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतबिरुद्ध उच्च अदालत पाटनमा दोस्रो मुद्दा परेको छ । लाभांशमा हिनामिना गरेको भन्दै वीरेन्द्रसहित ५ जना विरुद्ध उनको भाइ शिवेन्द्रबहादुर बस्नेतले बिहीबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् ।
उनले सञ्चालक बस्नेत, सेयरधनी सुनिता बस्नेत, आरजु बस्नेत, आस्था बस्नेत र प्रमुख वित्तीय अधिकृत रमेश लुइँटेलविरुद्ध मुद्दा दर्ता गरेका हुन् । उनीहरुविरुद्ध आर्थिक वर्ष (आव) २०७५–०७६ र आव २०७८–०७९ मा लाभांश हिनामिना गरेको आरोप छ ।
यसअघि शिवेन्द्रले गत शुक्रबार पनि कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएपछि ४० प्रतिशत सेयर हिस्सेदार प्राप्त सेयरधनीको अख्तियारी लिएर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए ।
बुद्ध एयरको अप्रेसनलाई असर नपर्ने गरेर मुद्दा दर्ता गरेको शिवेन्द्रले बताएका छन् ।प्रबन्ध सञ्चालक दाजु वीरेन्द्रले ४० प्रतिशत सेयरधनीलाई बेवास्ता गरेर बहुमतको आधारमा कम्पनीको काम कारवाहीमा एकलौटी र मनपरी गरेको शिवेन्द्रको आरोप छ ।
बुबाको मृत्यु पछि कम्पनीको कुनै पनि वित्तीय विवरण दिन नमानेको र कम्पनीको नगद तथा जिन्सी हिनामिना गरेकोसमेत आरोप लगाएका छन् ।


विश्व खबर 















