images
images
  • भारी वर्षाले दाङको देउखुरी क्षेत्र डुबानमा

    दाङ- भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् ।

    गएरातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।
    लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेको केन्द्रले जानकारी दिएको छ ।

    त्यस्तै लमही– ३ कौडिया (कान्तिपुर गाउँ)का घर डुबान परेका र दुईवटा घरबाट सशस्त्र प्रहरी बल नं. ४१ रिजर्भ गण अर्जुनखोला (कपिलवस्तु)ले उद्धार गरेको छ ।

    त्यस्तै देउखुरीमा खहरे खोलामा बाढी आउँदा बस्तीहरु जोखिममा परेका छन् । कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानको उच्च जोखिममा छन् । अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबईलगायत अन्य नदीहरूको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपील गरेको छ । दाङका बगासोती, लालमटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा लगायत स्थानमा भारी वर्षा मापन भएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images