काठमाडौं- सुन तस्करी एक क्वीन्टल सुन तस्कर प्रकरणमा राजस्व अनुसन्धान विभागले १० जनालाई पक्राउ गरेको छ ।कार्गो कम्पनी सञ्चालकलाई समातेसँगै पक्राउ पर्नेको संख्या १० पुगेको हो ।
प्रक्राउ पर्नेमा कृष्ण श्रेष्ठ, पुष्कर ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, एक कम्पनीका प्रोप्राइटर राजन श्रेष्ठ, चिनियाँ नागरिक जेछियाङ लिन, ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।
भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।
पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको समय दिएको छ ।
पाटन उच्च अदालतले बिहीबार पहिलोपटकलाई १० दिनको समय दिएको हो । पक्राउ परेकाहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् ।
बाकससहित १५५ किलो
विभागले नेपाल राष्ट्र बैङ्कमा बुझाएको सुन, ब्रेकसु बाकससमेत नापजाँच गरेको छ । राष्ट्र बैङ्कको टक्सार श्रातेका अनुसार ८ वटा पोका बनाएर ल्याएको सुन, ब्रेक सुसहितको शिलबन्दी गरिएको कार्टुन तौल गर्दा १५५ किलो ४६८ ग्राम परिमाण आएको छ । श्रोतले सुनको मात्रै परिमाण निकाल्ने प्रक्रिया अघि बढाउने बताएको छ । टक्सार श्रातेले भन्यो “ब्रेकसु र सुन निकालेर गालेर, पगालेपछि मात्रै सुनको वास्तविक परिमाण आउनेछ । राजस्वले राष्ट्र बैङ्कलाई अनुरोध गरेपछि प्रक्रिया सुरु हुन्छ ।”
सुन तस्करीमा गिरोह नै सक्रिय
सानो परिमाणमा सुन तस्करी हुने र प्रहरीले बरामद गर्ने घटना झुप्रै छन् । तर निकै ठुलो परिमाणमा सुन बरामद भएपछि सुरक्षा निकायका उच्च अधिकृत र सरोकारवालाहरूले अन्तर्राष्ट्रिय सञ्जालकै सव्रिmयतामा सुन तस्करी फेरि सुरु भएको बताएका छन् । उउनीहरूले चीनबाट नेपाल हुँदै भारत लाने गिरोहमा तीन देशकै तस्करी समूह संलग्न रहेको बताए ।
नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक वसन्त लामा र नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले सुन तस्करीमा त्रिदेशीय गिरोह सक्रिय रहेको प्रस्ट भएको बताए । २०७४ मा दुबईबाट काठमाडौँ भित्र्याइएको ३३ किलो सुन विमानस्थलबाटै गायब भएको घटनाको छानबिन समितिको सदस्य रहेका पूर्वएआइजी लामाले बलियो सञ्जालले नै सुन तस्करी गरी भित्र्याएको निष्कर्ष सुनाए ।
उनले भने, “त्यसैले त्यति ठुलो परिमाणमा ल्याउँदा, बिक्री गर्ने ठाउँमा पु–याउँदा मिलेमतो नभएसम्म ल्याउन सक्छ त कसैले ? सामान ल्याएर मात्रै हुन्छ र ! नेपालमा बिक्री गर्न नेपालकै र भारतमा बिक्री गर्न त्यहीँकै स्थानीय चाहिन्छ । त्यसका लागि नेटवर्क चाहियो । यो सबै काम सञ्जालले गर्छ । नेटवर्क छ, सबै मिलेर गरेका छन् ।”
महासङ्घका पूर्वअध्यक्ष शाक्यले कहाँबाट र कसरी गिरोह सक्रिय छ भन्ने विषयमा अनुसन्धान हुनुपर्ने बताए । उनँले नेपालमा अहिले दैनिक पाँच, छ किलोग्राम सुन आवश्यक पर्ने बताए । उनले विदेशबाट आउँदा परिवार र आफन्तका लागि ५० ग्राम सुन ल्याउन पाउने नियमका कारण नेपाली बजारको २५ प्रतिशत हिस्सा पूरा हुने बताए ।
अघि बढ्यो निलम्बनको प्रक्रिया
विमानस्थलको भन्सार नै पास गरेर सुन बाहिरिएपछि भन्सार विभागले त्यसका लागि जिम्मेवार कर्मचारीलाई निलम्बनको प्रक्रिया अघि बढाएको छ । प्रज्ञापन पत्रमा सहयोग गर्ने, गोदामबाट सामान झिक्दा जाँचपासमा संलग्न हुने कर्मचारीलाई तत्काल काम गर्न रोक लगाउन विभागले निलम्बनको प्रक्रिया अघि बढाएको छ । विभागले निलम्बनको आवश्यक प्रक्रिया अघि बढाउन अन्तिम निर्णयका लागि अर्थ मन्त्रालयका सचिव समक्ष प्रस्ताव पेस गरिसकेको छ ।






















