images
images
  • एक क्विन्टल सुन व्यवसायी दीपक मलहोत्राको रहेको प्रारम्भिक अनुसन्धान

    काठमाडौंं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ ।

    मोटरसाइकल÷स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो ।
    प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ छ, तर अनुसन्धान जारी रहेकाले उनीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् ।

    मंगलबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित ६ जना पक्राउ परेका छन् । सुनको यकिन परिमाण आइनसके पनि (जोख्न बाँकी) करिब सय केजीहाराहारीमा रहेको अनुसन्धान विभागका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । यसअघि एकैपटक ८८ केजीसम्म बरामद भएको थियो ।

    विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दिलीपको बयानका आधारमा रामकुमार पक्राउ परेका हुन् । रामकुमार दिलीपका मामा हुन् । ‘मैले मामाले भनेअनुसार सो सामान पास गराएको हुँ,’ उनले बयानमा भनेका छन् । मामा–भान्जा बुधबार पक्राउ परेका हुन् भने अन्य दुई मंगलबार नै पक्राउ परेका थिए ।

    विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२ज २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरि विभागले अप्रेसन चलाएको हो ।

    क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो । त्यसको तीन घन्टापछि बरामद भएको हो । रामकुमारको बयानबाट यसमा संलग्न ठूलै अर्थात् मुख्य व्यापारीसम्म पुग्न सकिने विभागका अधिकारीको भनाइ छ । ‘यसमा विगतदेखि नै सुन कारोबारमा संलग्न नाम चलेकै व्यवसायी संलग्न छन् भन्ने प्रारम्भिक बयानबाट देखिन्छ, अहिले अनुसन्धानकै क्रममा रहेकाले धेरै बोल्न मिल्दैन,’ ती अधिकारीले भने । तिनै व्यवसायीले यसअघि पनि पटक–पटक यसरी नै सुन ल्याएको सुराकसमेत मिलेको उनको भनाइ छ ।

    राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसन्धान भर्खरै सुरु भएकाले धेरै पाटा खुल्न बाँकी रहेको बताए । उनले भने, ‘सुन बरामद गरिएको छ । केही मानिस पक्राउ परेका छन् । यसअघि पनि यसरी सुन आएको आशंका छ । यद्यपि, अहिले अनुसन्धानकै क्रममा छौँ । अब यो विषयमा गम्भीर रूपले अनुसन्धान हुन्छ । अनुसन्धानबाट धेरै कुरा थाहा हुँदै जालान् ।’

    भन्सार जाँचपासबाट बाहिरिएको सुन भएकाले यसमा भन्सारका कर्मचारी पनि छानबिनमा छन् । अन्य सामानमा सुन मोरेर ल्याइएकाले भन्सार जाँचपासमा पत्ता नलागेको हुन सक्ने भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । ‘पुराना मेसिन भएकाले त्यसले सुन डिटेक्ट नगरेको पनि हुन सक्छ,’ उनले भने ।

    स्रोतका अनुसार विभागले सामान आयात गर्ने नाम चलेका ती व्यवसायीको पहिचान गरिसकेको छ ।

    ‘विभागको इन्टेलिजेन्सका आधारमा महानिर्देशकज्यूकै नेतृत्वमा यो अप्रेसन भएको हो,’ विभागका एक अधिकृतले भने, ‘सुनमा लगानी गर्ने व्यक्तिहरू अनुसन्धानको केन्द्रमा छन्, सुन कारोबारमा विगतदेखि नै नाम मुछिने व्यवसायी छन् ।’ यस विषयमा व्यवसायी दीपक मलहोत्रासँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images