‘देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ। मैले बाबुराम (बाबुराम भट्टराई) जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु’, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन्। पार्टीभित्र देखिएका विवाद समाधान गर्ने सिता दाहालले आज भौतिक संसार छाडेकी छिन्।
निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित भएकी सीताको आज बिहान ८ः३३ बजे निधन भएको उनको उपचारमा संलग्न प्रा डा युवराज शर्माले जानकारी दिएका थिए। खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन्।
सञ्चारकर्मीसँगको एक भेटमा सीताले भनिन्, ‘पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए। मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थे।’

तत्कालीन नेकपा (माओवादी) भित्रका अन्तरविरोध समाधान गर्न उनले खेलेको भूमिका यही धारणाबाट पनि स्पष्ट हुन जान्छ। लामो समय डा भट्टराईको सचिवालयमा स्वकीय सचिवको भूमिकामा रहेका विश्वदीप पाण्डेका अनुसार मुलुकमा भएको राजनीतिक परिवर्तनमा उनले खेलेको भूमिका महत्वपूर्ण छ।
‘यो परिवर्तनमा तपाईंको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ। सधैँ पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गर्नुभयो। तपाईंको महाप्रस्थानमा निकै दुःखी छु। तपाईंको अभाव महसुस भइरहनेछ’, सीता दाहालको सम्झनामा पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही वर्षदेखि तपाईंलाई हेरेरै भए पनि कैयौँ संवेदनाहरु भुलाइरहनुभएका कमरेड प्रचण्डलाई तपाईंको सबैभन्दा बढी अभाव खड्किनेछ। हार्दिक श्रद्धाञ्जली कमरेड सीता दाहाल। खुसी प्रकट गर्ने र सबभन्दा ज्यादा दुःखका तापमा सुस्ताउने चौतारी गुमाउनुभएका कमरेड प्रचण्डलगायत परिवारजनप्रति हार्दिक समवेदना।’
सीताले भनिन्, ‘पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए। मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थे।’
पार्टीभित्र कुनै पनि अप्रिय निर्णय नगर्न सीताले पार्टी अध्यक्ष प्रचण्डलाई धेरै सचेत गराइन्। माओवादी जनयुद्धको समयमा उनले खास अर्थमा आमाकै भूमिका निभाएको स्मरण गर्छन, माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा। ‘हामी सबैको आमाका रुपमा उहाँले विशेष भूमिका निर्वाह गर्नुभएको थियो’, उनले भने।

जनयुद्धको समयमा भारतमा माओवादीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए। नेताहरु मातृका यादव, सुरेश आलेमगरलगायतका नेता पक्राउ परेकै दिन अध्यक्ष प्रचण्डले उनीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम थियो। यदि त्यसदिन अध्यक्ष प्रचण्डलाई दिल्लीको मङ्गलपुरीमा तय भएको भेटका लागि सीताले जान नरोकेको भए पक्राउ पर्ने सम्भावना रहेको माओवादी केन्द्रका सचिव शर्मा स्मरण गर्छन।
माओवादीका नेताहरुका अनुसार सीता प्रचण्ड पत्नी मात्रै नभई सहयात्री र राजनीतिक सहयोद्धासमेत थिइन्। माध्यामिक विद्यालयको शिक्षकको जागिर छाडेर राजनीतिमा होमिएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने भूमिकामा सीताको महत्वपूर्ण योगदान रहेको बताउनेको सङ्ख्या ठूलो छ।
प्रधानमन्त्री प्रचण्डको पारिवारिक जीवनमा पछिल्लो १० वर्षमा तेस्रो बज्रपात परेको छ। जेठी छोरी ज्ञानुको स्तन क्यान्सरबाट निधन भयो। छोरा प्रकाशको पनि छ वर्षपहिले निधन भयो। आज पत्नी सीताको पनि निधन भयो।
विसं २०११ असार २१ गते कास्कीको हेम्जामा जन्मेकी सीता आठ वर्षको हुँदा पारिवारसँगै चितवन बसाइँ सरेकी थिइन्। औपचारिक शिक्षा नलिए पनि समाज, राजनीति र देश बुझ्ने सवालमा उनी पढेलेखेका महिलाभन्दा कम थिइनन्।
विसं २०२६ वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो। उनले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएकी थिइन्। चार सन्तानकी आमा सीतालाई मसिना छोराछोरी र श्रीमान्को भूमिगत राजनीतिलाई सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो।
माओवादीका नेता तथा कार्यकर्ता र शुभेच्छुकका अनुसार सीताले आमा, श्रीमती, राजनीतिक सल्लाहकार तथा कार्यकर्ताका रुपमा पु¥याएको योगदानमा कुनै प्रश्न उठाउने ठाउँ छैन। खासगरी अप्ठ्यारो अवस्थामा नआत्तिन र खुसीमा नमात्तिन श्रीमान् प्रचण्डलाई सल्लाह दिने सल्लाहकारको भूमिकामा रहेकी सीताले बनारसदेखि रोल्पाको थवाङसम्मको वस्तुस्थितिका बारेमा राम्रो ज्ञान थियो।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्।
विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। सीता देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी थिइन्।
महासचिव गुरुङका अनुसार सीताले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याएकी छिन्। सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता रहेको गुरुङ स्मरण गर्छन। पार्टी पङ्क्तिले अभिभावकका रुपमा लिने सीता कुनै पनि सार्वजनिक विवादमा भने मुछिनन्।
लेखक तथा कवि सुमिना सीतालाई प्रधानमन्त्री प्रचण्डको पत्नीका रुपमा मात्रै नभएर परिवर्तनको सानो हिस्सेदारीका रुपमा इतिहासले सधैँ स्मरण गर्नुपर्ने बताउँछन्। ‘पछिल्लो अवधि देशमा जे जति सामाजिक, राजनैतिक र सांस्कृतिक परिवर्तनहरू भए ती १० वर्षे जनयुद्धका उपलब्धि हुन् भन्ने सत्य ढाकेर नढाकिने सत्य हो। त्यो उपलब्धिमा सीता दाहालको भूमिका पनि सायद कतै भेटिन्छ कि ?’, उनले भने।
माओवादीका नेताहरुका अनुसार २०६१ सालमा रोल्पाको फुन्टिवाङमा भएको बैठकपछि पार्टीभित्र चर्को विवाद भएको थियो। त्यसबेला सीता उपचारका क्रममा भारतमा थिइन्। पार्टीभित्र विवाद बढेको थाहा पाएपछि उनले रोल्पा पुगेर प्रचण्ड र बाबुराम दुवैलाई सम्झाएकी थिइन्।
‘तपाईंहरु सानातिना विषयमा विवाद गरेर नबस्नुस्, तत्काल मिलाइहाल्नुस्’, सीताले भनिन्, ‘जनताको रगत बगिसकेको छ। तपाईंहरुको ताल के हो यस्तो रु यस्तै हो भने तपाईंहरुलाई जनताले छाड्दैनन्।’
यस्तै, सल्लाहका कारण पार्टीभित्रका अनेकन सङ्कट समाधान भएको माओवादीका नेताहरुको भनाइ छ। प्रधानमन्त्री पत्नी भए पनि उनले बालुवाटारमा बसेर अनावश्यक चासो लिएको तथा विवादमा परेको थिएन। कवि अर्जुन पराजुलीले सोही विषयलाई केन्द्रमा राखेर एउटा कविता लेखेका छन्।

श्रीमान् चलाइनौ तिमीले
छोराछोरी चलाइनौ
न आँखा चलायौ, न नाक चलायौ
न रवाफ न धाक चलायौ
न हात चलायौ तिमीले
न मुख चलायौ
बालुवाटारमा बसेर
न बालुवाटार चलायौ
कसैलाई नचलाईकन आज
तिमी आफैँ चल्यौ, सलाम छ तिमीलाई ।
प्रचण्डलाई सीताको त्यो साथ
सीता पौडेलको विवाह २०२६ सालमा पुष्पकमल दाहालसँग चितवनमा भयो। सामान्य लेखपढ गर्न मात्रै जानेकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध थिइन्। उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन्।
पञ्चायती शासनबाट जनतामाथि भइरहेको दमनलाई नजिकबाट नियालिरहेकी सीताले नेपालमा कम्युनिष्ट शासन ल्याउनुपर्ने निष्कर्ष निकालिन् जब उनी २०३५ सालमा गाउँमा भएको महिला भेलामा बसिन्। उनले आफूलाई पनि कम्युनिष्ट सरकार ल्याउन आफ्ना पतिलाई सहयोग गर्नुपर्ने निष्कर्ष सोही वेलाबाट आएको केही वर्षअगाडि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उल्लेख गरेकी छन्।
२०४७ सालमा प्रचण्डले चारवटा पार्टीलाई मिलाएर नेकपा एकता केन्द्र घोषणा गरे। २०४८ मंसिर ४ गतेबाट चार समूहको एकता केन्द्रबाट प्रचण्ड महासचिव बने। २०५१ साल फागुन २–४ मा नेकपा एकताकेन्द्र नाम परिवर्तन गरी नेकपा माओवादी राखियो।
२०५२ साल असारमा गोरखामा केन्द्रीय समितिको बैठक बसी सैद्धान्तिक प्रतिबद्धता र चार तयारी एवं फागुन १ गतेबाट जनयुद्धमा होमिने तयारी गर्यो। सोही अनुसार प्रचण्डले युद्धको तयारी गरे। प्रचण्डका हरेक गतिविधि नजिकबाट नियालिरहेकी उनले पनि युद्धमा जाने निर्णय लिइन् तर घरमा चार सन्तान ज्ञानु, रेनु, गंगा र छोरा प्रकाश थिए।
तीमध्ये ज्ञानुको विवाह भइसकेको थियो भने रेनु, गंगा र प्रकाश सानै थिए। प्रचण्डले सीतालाई सम्झाउँदै साना छोराछोरीको भविष्य अन्योलमा पर्ने भएकाले घरमै बस्न आग्रह गरेका थिए।तर उनले प्रचण्डलाई युद्धमा जान कन्भिन्स गराइन्। छोराछोरी लिएर उनी पनि युद्धमा होमिइन्।
जनयुद्धका वेला प्रचण्ड र बाबुरामबीच खुबै घनिष्टता थियो। कहिले काही पार्टीका नेताहरूले कुरा लगाइदिएपछि प्रचण्ड र बाबुरामबीच खटपट हुन्थ्यो। त्यति वेला दुवैलाई मिलाउने जिम्मेवारी सीताको हुन्थ्यो। दुवै नेताहरूलाई खराब मान्छेबाट टाढै बस्न आग्रह गर्थिन।
‘संघर्ष गर्ने पार्टीमा वेला वेलामा अन्तरसंघर्ष भइहाल्छ, मिलाउनुपर्छ भन्ने मेरो जोड हुन्थ्यो। मैले बाबुरामजी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरैपटक कुरा मिलाउँदै आएकी छु’‚ सीताले भनेकी थिइन्, ‘त्यतिवेला प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए। मैले दुबै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्नुस् भन्थें।’
सीतासँग विवाह भएपछि प्रचण्ड माओका किताब खुबै पढ्ने गर्थे। यसलाई सीताले नजिकबाट नियालिरहेकी थिइन्।
‘बिहे गरेर काठमाडौं आईए पढ्न आएका वेला प्रचण्डजीले माओका किताब बिरालोले बच्चा सारेको जस्तो कहिले यता कहिले उता सार्नुहुन्थ्यो, मैले किन यस्तो गर्नुहुन्छ भनेर सोध्दा कम्युनिष्ट यस्तै हो भन्नुहुन्थ्यो। पछि मैले पनि बुझ्दै गएपछि उहाँ सही बाटोमा हुनुहुन्छ भन्ने लाग्यो। २०४३ सालदेखि नारायणगढ र २०४६ सालदेखि काठमाडौंमा पार्टी हेडक्वाटर भन्ने भयो। खाना पकाउने र खुवाउने काम मात्रै भयो। मैले उहाँलाई जसरी सहयोग गर्न सक्थें त्यसरी नै गरें’‚ सीताले एबीसी टेलिभिजनसँग भनेकी थिइन्।
सीतालाई आफूले पढ्न नसके पनि छोरीहरूले पढ्नुपर्छ भन्ने भाव थियो। उनले आफ्ना भाइहरूले पढे पनि आफूले पढ्न नपाएकोमा गुनासो थियो।
‘त्यो वेला छोरीले पढ्ने भनेको एकादुई चामलको बियाँ जस्तै हुन्थ्यो होला। गाउँघरका महिलाले पढ्ने भनेको चलन थिएन। मेरो बुवाले छोरीलाई पढाउनुपर्छ भनेर कराउनुहुन्थ्यो। वातावरण र अनुकूलले पनि दिएन’‚ दाहालले भनेकी छन्।
प्रचण्डको पढाइका लागि सीताले महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। आर्थिक अवस्था कमजोर रहेका प्रचण्डको पढाइमा सीताले आमा र श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन्। यो कुरा स्वयं सीताको मुखबाट आएको हो।
‘उहाँको पढाइका लागि धेरै भूमिका खेलेकी छु। आमा र श्रीमतीले खेल्ने भूमिका खेलेकी छु। पढ्ने वेला उहाँलाई माइतबाट ल्याएको पैसा पनि दिने गर्थे। सानातिना गहन बेचेर पढ्न सहयोग गरेको थिएँ। उहाँको पढाइमा मेरो आमाको पनि ठूलो हात छ’‚ उनले भनेकी छन्।
सीता पहिलेबाटै महिलाको हक अधिकारको विषयमा पार्टीभित्र आवाज उठाउँथिन्। २०४० सालदेखि महिलाको अधिकारका लागि उनी लड्दै आइन्। महिला पुरुष दुई रथका पाङ्ग्रा भन्ने तर अधिकारका लागि भेदभाव गरिएकोमा उनको असन्तुष्टि थियो। उनले अन्तिम समयसम्म महिलाको हक अधिकारका लागि लडिरहने बताउने गर्थिन्।
‘मलाई पार्टीको केही प्रवृत्ति मन पर्दैन थियो। यसरी नै जाने हो भने पार्टीले केही गर्न सक्दैन। महिलालाई पनि अगाडि बढाउनुपर्छ। पुरुष भने मजासँग फुक्लेको हलोजस्तो भएर हिँड्न पाउने महिलाले खेतीपाती गर्नुपर्ने, बच्चा हुर्काउनुपर्ने?’‚ उनले भनेकी छन्, ‘साराका काम महिलाले धान्नुपर्ने? कहिलेकाहीँ त सहयोग गर्नुपर्छ नि। यो कुरामा म सधैँ डिस्कस गर्थे। महिला पुरुष एउटै कोखबाट जन्मिएका हुन्। सामन्तवादी प्रवृत्ति देखाउनु भएन। महिलालाई व्यथा लाग्दा दुई थरी हुन्थ्यो र? आफ्नो अधिकारका लागि घरभित्र लड्नुपर्छ। पार्टी नभए बाहिर पनि लड्नुपर्छ।’
जनयुद्धताका पटकपटक दुश्मनको घेरामा परेका प्रचण्डबारे सीतालाई खुबै चिन्ता पर्थ्यो। हुन पनि हो एउटा पत्नीका लागि पतिभन्दा ठूलो के नै हुन्छ र? सीता भन्ने गर्थिन्– बमबारी हुँदा वा दुश्मनको नजिक पर्दा मलाईभन्दा पनि उहाँलाई केही भइहाल्यो भने के होला ? देश र जनता आज यो ठाउँमा आइपुगेको छ । पार्टीभित्रको अन्तर्द्वन्द्व पनि सबै बुझिएको छ। उहाँको अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन्। त्यसैले उहाँलाई केही हुनुहुन्न भन्ने खालको बढी चिन्ता थियो।
पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहने उनको स्वभाव थियो। माओवादीभित्र मात्रै नभई विसं २०७४ सालमा तत्कालीन नेकपा (एमाले) सँग पार्टी एकता गर्दा पनि सीताले खुसी व्यक्त गर्दै कम्युनिष्ट जनमतलाई थप एकीकृत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी थिइन्।
प्रचण्डलाई सीताले जोगाएका दुई घटना
जनयुद्धकालमा सीताले प्रचण्डलाई बालबाल बचाएका थुप्रै घटना छन् तर तीमध्येका दुईवटा घटना महत्त्वपूर्ण छन्। एकपटक भारतमा विद्रोही समूह अल कायदाको खुब खोजी भइरहेको थियो। सोही वेला प्रचण्ड र सीता पनि दिल्लीबाट गोरखपुर आउँदै थिए। रेलको एउटा सिटमा प्रचण्ड र सीता सुतेका थिए। त्यहाँ इण्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो।
प्रचण्डले ठूलो झोलामा माओवादी डकुमेन्ट, पुस्तक र लेख राखेर ल्याएका थिए। प्रचण्डले रेलमा ती सबै सामान सिरानीमा हालेर बसेका थिए। रेलमा सबै मान्छेको सामान चेक गरियो। सीता र प्रचण्ड दुवै निद्रामा थिए तर सीताले प्रहरी आएको थाहा पाइहालिन्। प्रहरीले झोला र खल्ती चेक गरिराखेको र अरूलाई उठाइरहेको देखेपछि प्रचण्डलाई सचेत गराइन्।
तालिबान जस्तो दाह्री जुँगा पालेका प्रचण्डलाई प्रहरीले शंका गर्न सक्थ्यो। त्यतिखेर दाह्रीजुँगा भएका मुसलमानहरूकै खोजी भइरहेको थियो। प्रचण्ड रेलमा तन्ना ओढेर सुतिरहेका थिए। खुट्टाले झकझकाएर सङ्केत गरिन्।
त्यसपछि सीताले प्रचण्डलाई भनिन्, ‘तपाईं चुप लागेर सुत्नुहोस्।’ त्यो सङ्केत पाएपछि प्रचण्डले कुरा बुझे। सीता गृहिणी महिलाजस्तो यताउता गर्दै बसिन्। त्यसपछि सबैलाई चेक गर्दा पनि उनीहरूलाई गरेन। उक्त घटनामा उनीहरू बचेर नेपाल आएका थिए।
२०६० सालमा पनि त्यस्तै खालको घटना घट्यो। उक्त समय सुरेश आले मगर र मातृका यादव पक्राउ परे। उनीहरू पक्राउ पर्दा प्रचण्ड पनि सँगै थिए। यो घटना पनि दिल्लीकै हो। साँझ परेकाले प्रचण्डले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभाको छ, कुराकानी गर्नुछ’ भने। त्यसपछि सीताले भनिन्, ‘राति भइसक्यो अहिले नजानुहोस्।’ दुईतीनपटक जुत्ता लगाउँदै बाहिर जाँदै गरे। सीताले कराएको कराई गरेपछि फर्केर भित्र कोठामा पसे।
भोलिपल्ट बिहान प्रचण्डले ‘म जान्छु’ भन्न थाले। सीतालाई मनमा शंका लाग्यो सुरेश आले मगर यताउता भाषण गर्दै हिँडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुनसक्छ। त्यसैले सीताले प्रचण्डलाई सम्झाउने तरिकाले कुरा गरिन्। ‘उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानुपर्छ’ उनले भनिन्। त्यसपछि प्रचण्डले स्टाफलाई फोन गरेर सुरेशकहाँ बुझ्न लगाए। उनीहरूलाई हिजै प्रहरीले पक्राउ गरिसकेको जवाफ पाएपछि प्रचण्ड पक्राउबाट बचेका थिए।
चार सन्तान, कोखमा दुई मात्रै
प्रधानमन्त्री प्रचण्ड र स्वयं सीताका चारजना सन्तान थिए। उनीहरूका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु, माहिली रेनु, कान्छी गंगा र एउटा छोरो प्रकाश थिए। उनीहरूले विवाह गरेका दुई सन्तान गुमाउन पुगे। २०७० सालमा जेठी छोरी ज्ञानु क्यान्सर रोग लागेर बितिन्।
जेठी छोरी गुमाएको पीडाले विक्षिप्त बनेकी सीतालाई अर्को पीडा थपिन धेरै वर्ष कुर्नु परेन। २०७४ मंसिर ३ गते छोरो प्रकाश गुमाइन्। त्यसपछि सीता उठेर हिँड्न सकिनन्। छोरी र छोरा गुमाएको वियोगले उनी प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगले पीडित बनिन्।
पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रिया साथै मनोदशा र सोचलाई समेत प्रभावित बनाउँछ। प्रचण्डले पत्नी सीताको उपचारका लागि देश विदेश सबै गरे तर केही पार लागेन। अन्त्यमा उनी परलोक भइन्।
जटिल प्रकारको पार्किन्सन्स रोगबाट पीडित सीताको उपचारका लागि अनेकन प्रयास गरिएको थियो। नेपाल, भारत र अमेरिकाका विभिन्न अस्पतालमा पनि उपचार भएको थियो। (रासस)






















