images
images
  • टेस्टराष्ट्रसँग नेपालको लगातार हार, वेस्ट इन्डिज १०१ रनले विजयी

    काठमाडौं- टेस्टराष्ट्रविरुद्धको दोस्रो भिडन्तमा पनि नेपाल सहजै पराजित भएको छ। आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल टेस्टराष्ट्र वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको हो।

    नेपालले एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजसँग पहिलोपटक प्रतिस्पर्धा गरेको हो। यसअघि ग्लोबल छनोटको पहिलो खेलमा आयोजक जिम्बावेसँग पनि नेपाल ठूलो अन्तरले पराजित भएको थियो।
    तीन सय ४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४९.३ ओभरमा दुई सय ३९ रनमा अलआउट भयो।

    नेपालको तर्फबाट आरिफ सेखले सर्वाधिक ६३ रन बनाए। आरिफ र गुल्सन झाबीच ६७ रनको साझेदारी बनेपछि नेपालले खेलमा दुई सय रन पूरा गरेको हो।

    ९३ बल खेलेका आरिफले एक छक्का र चार चौका प्रहार गरे। यस्तै, ५८ बलमा ४२ रन बनाएर गुल्सन पेभेलियन फर्किए। उनले एक छक्का र पाँच चौका प्रहार गरे।

    आठौँ विकेट खसेपछि मैदानमा आएका करन केसीले २७ बलमा २८ रन बनाए। उनले एक छक्का र चार चौका प्रहार गरे। रोहितले ३०, आसिफले २८ र दीपेन्द्रले २३ रन बनाए। भीम र कुशल मल्लले दुई–दुई, सन्दीपले एक रन बनाउँदा ललित राजवंशी शून्य रनमा नटआउट रहे।

    नेपालले पाँच रनको अवस्थामा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। यस्तै, २३ रनमा भीम सार्की, ४८ रनमा आसिफ सेख, ८१ रनको अवस्थामा रोहितकुमार पौडेल आउट भएका थिए।

    टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल, एक सय २९ हुँदा दीपेन्द्रसिंह ऐरी, एक सय ९७ हुँदा गुल्सन झा र दुई सय चार रन हुँदा सन्दीप लामिछाने, दुई सय १२ रनमा आरिफलाई गुमाएको थियो।

    जिम्बावेको हरारेस्थित खेलमैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको टेस्टराष्ट्र वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा तीन सय ३९ रन बनाएको थियो।

    वेस्ट इन्डिजको इनिङमा कप्तान साई होप र निकोलस पुरनले शतकीय इनिङ खेले। होपले एक सय २८ बलमा एक सय ३२ रन बनाए। उनले दश चौका र तीन छक्का प्रहार गरे। पुरनले ९४ बलमा एक सय १५ रनको योगदान दिए। उनले चार छक्का र दश चौका प्रहार गरे।

    वेस्ट इन्डिजले पनि सुरुवाती ओभरमा सस्तैमा विकेट गुमाएको थियो। ५५ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाएको अवस्थामा हो र पुरनबीच दुई सय १६ रनको साझेदारी भएपछि वेस्ट इन्डिजले विशाल स्कोर खडा गरेको हो।

    पुरनले दुईपटक जीवनदान पाएका थिए। त्यसको फाइदा उठाउँदै एकदिवसीय करियरमा दोस्रो शतक बनाए। उनी दुवैपटक विकेट किपर आसिफ सेखबाट क्याच मिस भएका थिए।

    नेपालका लागि ललित राजवंशीले तीन तथा करन केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान एक–एक विकेट लिए। ललितले अन्तिम ओभरमा दुई विकेट लिए।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images