काठमाडौं- महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छिन्।
श्ैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै पछिल्ला कार्यशैलीप्रति असहमति राख्दै उनले पदबाट राजीनामा दिएकी हुन्।
मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको उनले सचिवालयमा जानकारी गराएकी छिन्।
पछिल्लो समय काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो । तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको अर्यालले बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेपछि अर्यालले मेयर शाहमा लोकतान्त्रिक अभ्यासको परिपालना अत्यन्तै कमजोर रहेको बताइन् ।
’लोकतन्त्र भनेको सबै पक्षसँग समन्वय,छलफल र सहकार्य आवश्यक हुन्छ,’ उनले भनिन्,’ हिसानले शिक्षा मन्त्रालयबाट अनुमति लिएर मेला लगाएको थियो । कार्यक्रम सञ्चालन गर्ने बेलामा नगर प्रहरी पठाएर जबर्जस्ती हटाउन लगाउने होइन । लिखित भए पनि ’डिग्निफाइड क्लोजर’ हुन्छ नि !’ निजी शैक्षिक संस्थाहरूलाई नियमन गर्ने हो तर त्यसरी लथालिंग छाड्ने अवस्था नरहेको उनले बताइन् ।
सानो अर्थतन्त्र र व्यवसाय गर्ने व्यक्तिहरूलाई जबर्जस्ती नगर प्रहरी लगाएर धरपकड गरेको विषय पनि आफूले पटक–पटक उठाउँदा सुनुवाइ नभएको अर्यालले बताइन् । शिक्षामा नैतिकताको कुरा आउने भएकाले ठेला हटाउँदा तीनको व्यवस्थापन र लात्ती हानेको भिडियोले नैतिक प्रश्न उठाएको उनले बताइन् । ’नैतिकता र शिक्षा भनेको सँगसँगै जान्छ । शिक्षा भनेको समाज बनाउने कुरा हो सबैलाई सम्मानपूर्वक बाँच्ने अधिकार हुन्छ,’ अर्यालले भनिन्,’बन्द गराउने हो भने प्रक्रिया पूरा गरेर व्यवसायीहरूलाई सबै सूचना दिनुपर्छ, फेसबुकमा स्टाटस लेखेर होइन ।’
अर्यालले हरेक क्षेत्रका व्यावसायिक गतिविधि हुने तर गैरकानुनी भए महानगरको सम्बन्धित विभागले सूचना पठाएर नियमन गर्नुपर्ने भए पनि मेयर शाह भीडको पछि लागेको बताइन् । मेयर शाहमा लोकतान्त्रिक अभ्याससमेत नभएको पनि उनले बताइन् ।
’मेयर भनेको स्थानीय सरकारको प्रमुख पनि हो । त्यहाँ धेरै सरोकारवालाहरुको कुरा सुन्नु्पर्छ । सरोकारवालाहरूको कुरा नसुन्ने अनि एक्कासि सामाजिक सञ्जालमा स्टाटस लेख्दा व्यवसायीहरू आत्तिन्छन् । भीडको पछाडि लागेको देखियो,’ अर्यालले भनिन् ।
गत वर्ष भदौमा काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा नियुक्त अर्यालले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।
२०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत उनलाई सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो । उनले टिच फर नेपालको ५ वर्ष अध्यक्षका रूपमा काम गरिसकेकी छिन् ।


विश्व खबर 




















