काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बाबेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
जिम्बाबेस्थित हरारे स्पोर्ट्स क्लबमा घरेलु टोली जिम्बाबेले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।
नेपालले देव्रेहाते स्पिनर ललित राजवंशीलाई बाहिर राखेर तीन मध्यम गतिका बलरहरुलाई खेलाउने निर्णय गरेको छ ।
रोहित पौडेलको कप्तानीमा रहने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा र सन्दीप लामिछाने छन् ।
ललितसँगै ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, किशोर महतो र प्रतिस जिसी बेन्चमा रहेका छन् । नेपालले पहिलो पटक टेस्ट खेल्ने राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरिरहेको हो ।
विश्वकप लिग २ मा तेस्रो स्थानमा रहि नेपाल विश्वकप छनोटक्रममा पुगेको थियो । सोक्रममा नेपालले १२ मध्येको ११ खेल जितेको थियो ।
क्रेग इर्भिनको कप्तानीमा रहने जिम्बाब्वेका टोलीमा जोयलोर्ड, गुम्बी, वेलिङटन मासाकाद्जा, टेन्डेइ चतारा, सिन विलियम्स, सिकन्दर राजा, रायन बर्ल, वेस्ली माधेभेरे, ब्लेसिङ, मुजाराबानी र रिचर्ड नगराभा प्लेयिङ ११ मा खेल्दै छन् ।
यसै वर्ष अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि छनोटको आधार रहेको प्रतियोगितामा नेपाल समावेश समूह ‘ए’ मा दुई टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बाब्वेसहित नेदरल्यान्ड्स र अमेरिका रहेको छ ।
त्यस्तै समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् ।
समूहका शीर्ष ३ टोली सुपर लिगमा पुग्ने छन् र त्यसबाट शीर्ष दुई टोली फाइनल पुग्दै भारतमा हुने विश्वकपका लागि छानिने छन् । समूह ‘ए’ का खेलहरु हरारे र समूह ‘बी’ का खेलहरू बुलावायोमा हुनेछ ।
नेपालको सुरुवाती ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की


विश्व खबर 
















