images
images
  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट २९ अर्ब २६ करोड ५९ लाख

    किसानका लागि शून्य ब्याजदरमा कर्जा
    धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

    त्यसअन्तर्गत पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८ दशमलव १६ प्रतिशत विनियोजन गरिएको छ भने चालु ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२ दशमलव ७९ प्रतिशत विनियोजित छ ।

    अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ २ अर्ब ३४ करोड र वित्तीय व्यवस्था तर्फ ३० करोड विनियोजन गरेको छ।

    प्रदेश सरकारले आन्तरिक राजस्वबाट १ अर्ब ५० करोड, नेपाल सरकारबाट बाँडफाँड भएको राजस्वबाट ९ अर्ब ४१ करोड, संघीय बाँडफाँड ६ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५२ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५१ करोड १६ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट ३ अर्ब ८६ करोड, समपूरक अनुदानबाट ७७ करोड र विशेष अनुदानबाट ६२ करोड जुटाउने लक्ष्य लिएको छ।

    सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि सांसद कोष भनिने प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्रका सांसदलाई तीन करोड विनियोज गरेको छ । उक्त कार्यक्रम अनुपयुक्त रहेको भन्दै विगतदेखि नै आलोचना हुने गरेको थियो ।

    यस्तै कृषि क्षेत्रअन्तर्गत कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान सञ्चालन गरिने उल्लेख छ । कृषकहरुलाई शून्य ब्याजदरमा कर्जा ४ करोड विनियोजन गरिएको छ । यस्तै कृषि एम्बुलेन्स, रासायनिक मलको सहज उपलब्धताका लागि अनुदान, विपन्न वर्गको पोषण सुधारका लागि कार्यक्रम, खाद्यान्न भण्डार स्थापना, बाजुरा र दार्चुलामा च्यांग्रा पालन व्यवसायका लागि बजेट विनियोजनलगायतका कार्यक्रम राखिएका छन् ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images