images
images
  • ब्याजदर ओरालो लाग्न थालेसँगै जेठमा घरजग्गाको कारोबारमा बृद्धि

    काठमाडौं- बैंक ब्याजदरदेखि तरलता सहज हुँदै गएपछि जेठमा घरजग्गा कारोबार लयमा फर्किन थालेको छ।

    भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठमा देशभरका मालपोत कार्यालयहरुबाट जेठमा लिखत पासको संख्या ५५ हजार ६९ पुगेको छ । यो लिखत पास चालु आर्थिक वर्ष २०७९/८० कै उच्च हो ।

    केही दिनअघि राष्ट्र बैंकका गभर्नरसहितको टोलीले आगामी मौद्रिक नीतिमार्फत घरजग्गा क्षेत्रलाई केही खुकुलो बनाउने आश्वासन दिएपछि पनि कारोबारीहरुको मनोबल केही बढेको बुझिन्छ।

    गत वैशाखमा ४२ हजार ४६१ र चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । गत फागुनमा ४० हजार ७३४, माघ महिनामा ४१ हजार ८६, पुसमा ३८ हजार ८३१, मंसिरमा २९ हजार १८४, कात्तिकमा २७ हजार ९३९, असोजमा २५ हजार ७८९, भदौमा ३४ हजार ७२० र साउनमा ३३ हजार ७३४ लिखत पारित भएको थियो ।

    यो वर्षको जेठको तथ्याङ्कले वैशाख, २०७९ देखि घट्न थालेको घरजग्गा कारोबार अब विस्तारै बढ्दै जाने संकेत देखिएको छ ।

    jaagga

    गत जेठमा कारोबार बढ्दा पनि राजस्व संकलन भने ३ अर्ब ७५ करोडमा सीमित भएको छ । गत चैत महिनाको घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ५१ करोडभन्दा बढी राजस्व संकलन भएको थियो । गत असोजमा २५ हजार ७ सय वटा मात्रै लिखत पास हुँदा यस्तो राजस्व २ अर्ब ५६ करोडसम्म झरेको थियो ।

    चैत २०७८ महिनामा लिखत पासको संख्या ७० हजार ८२९ थियो । तर, त्यसपछि ह्वात्तै घटेको जग्गाको कारोबार चालु आर्थिक वर्षमा मासिक २६ हजारसम्म लिखत पास हुने अवस्थासम्म झरेको थियो ।
    घरजग्गा कारोबार शिथिल भएपछि अर्थतन्त्रको अन्य क्षेत्र पनि सुस्ताएको व्यवसायीले बताउँदै आएका छन् ।

    बैंकहरुमा लगानीयोग्य पूँजी बढेसँगै लगानी बढेपछि घरजग्गाको कारोबारमा सुधार भएको हो । बैंकहरुमा लगानी थुप्रिन थालेपछि घरजग्गामा लगानी बढ्न थालेको छ, जसका कारण फेरि घरजग्गाको कारोबार बढ्दै जान थालेको छ ।

    बजारमा माग घटेकाले समस्यामा परेका व्यवसायीले बैंकको ऋण तिर्न जग्गा बेच्न खोजे पनि मूल्य राम्रो पाइरहेका छैनन् । ठूला सहकारीहरुको लगानी पनि घरजग्गामै फसेको छ । जसका कारण सहकारीका वचतकर्ताहरुले आफ्नो बचत समेत समयमै फिर्ता नपाउनेदेखि सहकारीहरु समस्याग्रस्त हुने क्रम बढ्दै गएको छ ।

    धितोमा राखेका जग्गाहरुको समेत मूल्य प्रभावित हुँदा खराब बैंक ऋणको धितोको लिलामीमा समेत समस्या छ । यसले बैंकको खराब कर्जा बढ्दै जाने जोखिम देखिएको छ ।

    एकातर्फ घरजग्गाको मूल्य घट्ने, कारोबार नहुने तथा लगानी फस्ने भइरहँदा नयाँ परियोजनाका लागि ऋण लिन जग्गा नै धितो खोज्ने बैंकिङ प्रणालीको चरित्रले पनि समस्या थपेको छ । जग्गाको कमजोर मूल्याङ्कनका कारण ऋण लिन समेत व्यवसायीहरुलाई सकस परेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images