images
images
  • सन्दीप लामिछाने सोमबार साँझ दक्षिण अफ्रिका जाने

    काठमाडौं- नेपाली ब्याटर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग अभ्यास खेलका लागि सोमबार साँझ दक्षिण अफ्रिका जाने भएका छन्।

    जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको पेशी आगामी असार २९ गतेका लागि तोकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने भएको हो।
    सन्दीपलाई सोमबार साँझ दक्षिण अफ्रिका पठाउने तयारी भइरहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

    सन्दीपलाई राष्ट्रिय टोलीसँग अभ्यास खेलमा सहभागी गराउन सोमबार साँझ दक्षिण अफ्रिका पठाउने निर्णय भइसकेको उनले बताएका छन् । दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न राष्ट्रिय टोलीका अरु सदस्य मंगलबार नै त्यसतर्फ गइसकेका छन् । तर अदालतले फैसला दिने गरी तयारी गरेर सुनुवाइ पनि अघि बढाएका बेला सन्दीप जानबाट रोकिएका थिए ।

    उच्च अदालत पाटनले गत पुस २९ गते जेलबाट रिहा गर्ने गरी दिएको आदेशमा सन्दीपलाई विदेश जान रोक लगाएको थियो । तर सर्वोच्च अदालतले उच्चको उक्त आदेशलाई बदर गर्दै विदेश जाने बाटो खोलिदिएको थियो । तर, सन्दीपले हरेक २१ दिनमा जिल्ला अदालतमा उपस्थित हुनुपर्ने बाध्यात्यमक प्रावधानले उनी मंगलबार त्यता जान पाएनन् ।

    यसबीचमा यो मुद्दालाई लिएर सन्दीपका वकिलहरुले कम्तीमा डेढ महिना पर पेसी सार्न अदालतमा निवेदन दिएका थिए । अदालतबाट उक्त निवेदन स्वीकृत हुँदै अर्को पेसी आगामी असार २९ गतेलाई मात्रै तोकिएपछि सन्दीपको क्रिकेट यात्रा नरोकिने भएको हो ।

    दक्षिण अफ्रिकामा नेपालले चार अभ्यास खेल खेल्ने छ । त्यसपछि टोली त्यहीँबाट विश्वकपको ग्लोबल छनोट खेलमा सहभागी हुनका लागि जिम्बाब्वे उड्ने छ ।

    जेलबाट छुटेर पनि बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप बिनाको राष्ट्रिय टोलीमा समस्या देखिने भएपछि क्यानले उनलाई लैजान पहल गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images