काठमाडौं- भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्याकम्तीमा २ सय ८८ पुगेको छ । यस्तै एक हजार बढी घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । बहनागा बाजÞार रेलवे स्टेशन हुँदै गइरहेको शालीमार–चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए ।
यी डब्बा छेउकै ट्र्याकमा गइरहेको हावड़ा एक्सप्रेस ट्रेन सँग ठोक्किन पुगे । त्यसपछि हावड़ा एक्सप्रेस ट्रेनका पनि ३ डिब्बा पटरीबाट बाहिर आएका थिए ।
बहनागा बजार स्टेशनमा ४ वटा ट्रैक छन् । एक लूप ट्रेकमा मालगाड़ी रोकेर राखेको थियो । कोरोमंडल ट्रेनका डिब्बा पटरीबाट निस्केर मालगाडीमा ठोक्किएको भारतीय रेल्वेका वरिष्ठ अधिकारीको भनाइलाई उद्धृत गर्दै इण्डियन एक्स्प्रेसले लेखेको छ ।
भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुगेका छन् । उनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
यस्तै गम्भीर घाइते भएकाहरुलाई २ लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई ५० हजार रुपैयाँ प्रदान गर्ने उनले बताएका छन् ।
यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
मृतकको सङ्ख्या बढ्न सक्ने
मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए।
शनिवार दिउसो घटनास्थल पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
नले ट्विटरमा लेखेका छन्, “दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ।“
गृहमन्त्री अमित शाहले घटना “अत्यन्त पीडादायी“ भनेका छन्।
कसरी भयो दुर्घटना?
शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू भारतीय समयानुसार शुक्रवार साँझ ७ बजे पटरीबाट बाहिर खसेका थिए। तीमध्ये केही विपरीत ट्र्याकमा पुगेका थिए भन्ने अनुमान गरिएको छ।
अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो र त्यो पल्टिएका डिब्बामा ठोक्किन पुग्यो भनिएको छ।
भारतीय अधिकारीहरूका अनुसार घटनास्थलमा रोकिएको अवस्थामा भएको अर्को सामानवाहक रेलमा पनि ती दुई रेलका डिब्बाहरू ठोकिन पुगेको बताएका छन्।


विश्व खबर 


















