images
images
  • बागमतीमा टुङ्गियो मन्त्रालयको भागबण्डा, कसको भागमा कति ?

    काठमाडौं- बागमती प्रदेशमा दलहरूले लिने मन्त्रालयको भागबण्डा टुङ्गो लागेको छ। बालुवाटारमा आज प्रदेशका नेताहरूसहित बसेको सत्ता गठबन्धन बैठकले उक्त प्रदेशमा मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको हो ।

    भागबण्डाको टुङ्गो नलागेर मन्त्रिपरिषद् विस्तार ढिलाइ भइरहेका बेला बालुवाटारमा प्रदेशका नेताहरूसहित बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले मन्त्रालय भागबण्डामा सहमति गरेका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र बागमतीका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले बिहीबार छलफल गरेर बागमतीको मन्त्रालय भागबन्डा मिलाएका हुन्।

    एक नेताका अनुसार खालि रहेका ५ मन्त्रालयमध्ये कांग्रेसले ३ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने बालुवाटारमा सहमति भएको छ।

    बागमतीमा ६ मन्त्रालय पाउनुपर्ने अडान लिँदै आएको कांग्रेसले ५ मन्त्रालय मात्रै पाउने भएको छ। बालुवाटार बैठकले एकीकृत समाजवादीलाई दाबी गरे अनुसारकै २ मन्त्रालय दिएको छ।

    काँग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रामकृष्ण चित्रकारले आफूहरूलाई ५ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको बताए। ‘अहिले ५ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको हो, बाँकी प्रदेशमै मिलाउनुस् भन्ने केन्द्रको निर्देशन छ,’ उनले भने।

    ११ सदस्यीय मन्त्रिपरिषदमा अहिले माओवादीबाट ४ र काँग्रेसबाट २ मन्त्री छन्। रिक्त ५ मन्त्रालयमध्ये कांग्रेसले ३ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने छ।

    बागमतीमा राज्यमन्त्रीको संरचना छैन। राज्यमन्त्री थप गर्ने विषय प्रदेशमै छलफल गरी निर्णय गर्ने र एक–दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइने जनाइएको छ ।

    मुख्यमन्त्री शालिकराम जम्कट्टेल र माओवादी केन्द्र भने प्रदेशमा मन्त्रालयको संख्या नबढाउने पक्षमा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images