images
images
  • बन्दीपुरको बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग

    तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । गाउँपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, नागरिक सामज, गैरसरकारी संस्था, शिक्षक एवं स्वदेश तथा विदेशमा बस्ने नागरिकसँग सुझाव माग गरेको हो ।

    प्रत्येक स्थानीय तहले असार १५ गते गाउँ वा नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थानीय तह यतिबेला बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा छन् ।

    गाउँपालिकाले संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधान, पन्ध्रौ योजना, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण तथा बन्दीपुर गाउँपालिकाको एकीकृत विकास गुरुयोजना २०७६–२०९६ का दीर्घकालिन सोच, लक्ष्य तथा उद्देश्यसँग तादम्यता हुने गरी आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ ।

    सोही सम्बन्धमा जेठ २७ गतेभित्र सबैले गाउँपालिकालाई सुझाव दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताउनुभयो । “गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरेका छौ”, उहाँले भन्नुभयो, “सङ्कलन भएका सुझावहरुलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्छौ ।” बजेट, नीति तथा कार्यक्रममा सबैको अपनत्व कायम गर्न खोजिएको उहाँले बताउनुभयो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जनताको आवश्यकता र मागका आधारमा आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम बनाइने जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images