काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २० वाणिज्य बैंकहरुमध्ये पाँचवटाको सेयरमा लगानी गर्दा दीर्घकालीन लाभ लिन सकिने देखिएको छ।
एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंकको सेयरमा लगानी गर्दा दीर्घकालीन लाभ लिन सकिने देखिएको हो।
यी पाँच वाणिज्य बैंकको प्राथमिक पुँजी कोष, व्यवसाय, कर्जा निक्षेप अनुपात, निष्क्रिय कर्जा अनुपात, निक्षेप संकलन, प्रतिसेयर आम्दानी र नाफाको हिसाबमा सुरक्षित छन्। यस्ता सूचक अब्बल हुने कम्पनीको सेयरमा लगानी गर्दा दीर्घकालीन रुपमा फाइदा हुन्छ।
२०७८ भदौ २ गते करिब ३२ सयको उच्च विन्दु पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हाल १९४९ विन्दुमा झरेको छ। निरन्तर ओरालो लाग्दै दुई हजार विन्दु तल आएको बजारमा अधिकांश वाणिज्य बैंकको सेयरमूल्य २ सय तल झरेको छ।
सात वाणिज्य बैंकको प्रतिकित्ता सेयरमूल्य २ सय तल र ९ वाणिज्य बैंक २ सय रुपैयाँको हाराहारीमा देखिन्छ। चार वाणिज्य बैंकको सेयरमूल्य मात्र ५ सय माथि छ।
हाल एभरेष्ट बैंकको प्रतिकित्ता सेयरमूल्य ५०६ रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५१८ रुपैयाँ, नबिल बैंकको ६१३ रुपैयाँ र एनआईसी एसिया बैंकको प्रतिकित्ता सेयरमूल्य ७३८ रुपैयाँ छ। साथै, नेपाल एसबीआई बैंकको प्रतिकित्ता सेयरमूल्य ३२२ रुपैयाँ, नेपाल बैंकको २६५ रुपैयाँ र कृषि विकास बैंकको प्रतिकित्ता सेयरमूल्य २५८ रुपैयाँ छ।
पछिल्लो समय निष्क्रिय कर्जा बढ्दा कर्जा नोक्सानी (प्रोभिजन)ले गर्दा बैंकहरुको नाफा खुम्चिँदै जान थालेको छ। बैंकहरुको नाफा खुम्चिँदै जाँदा त्यसको असर लाभांश क्षमता र लगानीमा पर्छ।
अधिकांश बैंकको नाफा खुम्चिँदै लगानीमा प्रभाव परे पनि एनआईसी एसिया, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई र कुमारी बैंकको सूचकमा खासै ठूलो प्रभाव परेको देखिँदैन।
यी बैंकहरुले खराब कर्जा मेन्टेन गर्न सफल हुँदा नाफा खुम्चिने देखिँदैन। तसर्थ यस्ता बैंकको सेयरमा लगानी गर्दा दीर्घकालीन रुपमा राम्रो रिटर्न ९प्रतिफल० पाइन सक्छ।
बजार घटेको बेला एनआईसी एसिया, सानिमा बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक र नेपाल एसबीआई बैंकको निष्क्रिय कर्जा न्यून हुँदा प्रोभिजन दर घट्ने र नाफा समेत प्रभाव नपर्ने हुन्छ।
प्राथमिक पुँजी कोष, व्यवसाय, कर्जा निक्षेप अनुपात, निष्क्रिय कर्जा अनुपात, निक्षेप संकलनको र प्रतिसेयर आम्दानी र नाफाको हिसाबमा यी पाँच बैंक सूचक सुरक्षित देखिएको छ।
अधिकांश वाणिज्य बैंकको खराब कर्जा २ देखि साढे ५ प्रतिशत पुग्दा यी वाणिज्य बैंकको खराब कर्जा न्यून रहेको छ।
कुन बैंक कस्ता ?
एभरेष्ट बैंक
एभरेष्ट बैंकको दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य ५०६ रुपैयाँ रहेको छ । साथै, बैंकको बुक भ्यालु २२१ रुपैयाँ ३९ पैसा र प्रतिसेयर आम्दानी ३०।८ रुपैयाँ छ।
प्राथमिक पुँजी कोष ९सीसीएआर० १०.२८ प्रतिशत, निष्कृय कर्जा ०।५५ प्रतिशत, तरल सम्पत्ति अनुपात ३८ प्रतिशत, कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ८६.९८ प्रतिशत र लगानी १४६ अर्ब रुपैयाँ छ। चालू आवको माघसम्म बैंकले १ अर्ब ८८ करोड रुपैयाँ नाफा गरेको छ।
एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकको प्रतिकित्ता सेयरमूल्य ७३८ रुपैयाँ छ। बैंकको बुक भ्यालु २४३.९७ रुपैयाँ र प्रतिसेयर आम्दानी ४६.६७ रुपैयाँ छ।
बैंकको सीसीएआर ९.१२ प्रतिशत, सीडी रेसियो ८४.११ प्रतिशत, तरल सम्पत्ति अनुपात २२।४७ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.६१ प्रतिशत र लगानी २६६ अर्ब रुपैयाँ छ। बैंकले माघसम्म ३ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता सेयरमूल्य ५१८ रुपैयाँ छ। बैंकको बुक भ्यालु १९५.७३ रुपैयाँ र प्रतिसेयर आम्दानी ३१।१४ रुपैयाँ छ।
बैंकको सीसीएआर १३.३८ प्रतिशत, सीडी रेसियो ७८.७३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.७२ प्रतिशत, तरल सम्पत्ति अनुपात ३३.५३ प्रतिशत र लगानी ९५ अर्ब रुपैयाँ छ। बैंकले माघमसान्तसम्म २ अर्ब २ करोड रुपैयाँ नाफा गरेको छ।
नेपाल एसबीआई बैंक
नेपाल एसबिआई बैंकको प्रतिकित्ता सेयरमूल्य ३२२ रुपैयाँ छ। बैंकको बुक भ्यालु १७२ रुपैयाँ र प्रतिसेयर आम्दानी २०।८ रुपैयाँ छ।
बैंकको सीसीएआर ९।७३ प्रतिशत, सीडी रेसियो ८४।०२ प्रतिशत, निष्क्रिय कर्जा ०।४७ प्रतिशत, तरल सम्पत्ति अनुपात २३।४१ प्रतिशत र लगानी १२५ अर्ब रुपैयाँ छ। बैंकले चालू आवको माघ मसान्तसम्मा १ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको छ।
सानिमा बैंक
सानिमा बैंकको प्रतिकित्ता सेयरमूल्य २४३ रुपैयाँ छ। बैंकको बुक भ्यालु १४४।८२ रुपैयाँ र प्रतिसेयर आम्दानी २०।७ रुपैयाँ रहेको छ।
बैंकको सीसीएआर ९.४२ प्रतिशत, सीडी रेसियो ८३.०९ प्रतिशत, निष्क्रिय कर्जा ०.७७ प्रतिशत, तरल सम्पत्ति अनुपात २४.८६ प्रतिशत र लगानी १४६ अर्ब रुपैयाँ छ। बैंकले माघ मसान्तसम्ममा १ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेको छ। -नेपाल खबरबाट


विश्व खबर 



















