काठमाडौं- टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार भन्दा बढी पुगेको छ भने हजारौँ घाइते भएका छन्।
टर्कीमा हालसम्म १७,१३४ जनाको मृत्यु भएको र सिरियामा कम्तीमा ३,१६२ जनाको मृत्यु भएको अधिकारीहरूले विहीवार जानकारी दिएका छन्।
संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ। उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्।
तर भूकम्प गएको १०० घण्टा पुग्न लाग्दा बाँचेका कोही भेटिनेबारे आशा हराउँदै गएको छ। अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प पीडितको जीवन समेत जोखिममा छ। उनीहरू प्रकोपपछि आवास, पिउने पानी र खानाबाट वञ्चित छन्।
टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन्।
टर्कीको विपत् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ। टर्की र सिरियाका दशौँ हजार मानिस भूकम्पका कारण घरविहीन भएपछि अत्यधिक चिसोमा अस्थायी आश्रयस्थलहरूमा चौथो रात बिताइरहेका छन्।

अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपतकालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ। सिरिया र टर्कीका भूकम्पपीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ।
यस्तै संयुक्त राष्ट्रसंघीय सहायता निकायले पठाएको राहत सामग्री टर्कीको सिमाना पार गरेर सिरिया पुगेको छ। यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो।
टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जान सक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ। यद्यपि, उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन्।
बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवं परोपकारी संस्थासँग आग्रह गरेका छन्।
अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ। अर्थ मन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पनि यदि जीवितहरूले ूतत्कालू आश्रय, खाना, पानी र औषधि नपाएको खण्डमा दोस्रो मानवीय प्रकोपले प्रहार गर्न सक्ने चेतावनी दिएको छ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । -बिबिसी


विश्व खबर 


















