काठमाडौं- बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । सत्ता साझेदार दलहरुबीच भागबन्डा मिलेसँगै आज बेलुकासम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् ।
११ मन्त्रालय रहनेगरी सरकारलाई पूर्णता दिन लागेको बागमतीमा सत्ता गठबन्धनमा रहेका तीन दल एमाले, माओवादी र राप्रपाको सरकार निर्माण गर्न लागेको हो।
एमालेको भागमा ४, माओवादीको भागमा ४ र राप्रपाको भागमा ३ मन्त्रालय परेको प्रदेश सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए।
आज विस्तार हुने मन्त्रिपरिषद्मा एमालेले मकवानपुरका एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ मन्त्री, काठमाडौंका केशब पोख्रेल कृषी तथा पशुपक्षी विकास मन्त्रीको जिम्मेवारी पठाउने भएको छ भने यसअघि नै चितवनका जगन्नथा थपलिया आर्थिक मामिला तथा योजना मन्त्रीमा पदभार ग्रहण गरिसकेका छन्।
त्यस्तै, माओवादी केन्द्रले पनि आफ्नो पार्टीबाट ४ मन्त्रीको नाम टुंगो लगाइसकेको छ। जसमध्ये निर्वतमान सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई पुन सामजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। यस्तै, सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन् भने सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। माओवादीका शालिकराम जम्मकट्टेलले यस अघि नै प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरिसकेका छन्।
यता बागमतीमा ३ मन्त्रालाय पाउने राप्रपाले भने अझै नाम टुंगो लगाउन सकेको छैन। यसअघि नै राप्रपाबाट उद्धव थापा बिना विभागीय मन्त्री बनेका छन्।
थापाले पनि आज मन्त्रालयको जिम्मेवारी पाउने छन्।


विश्व खबर 



















