images
images
  • सङ्क्रमित महिलाको गाउँकै आइसोलेशनमा सुरक्षित प्रसूति

    माछापुच्छे गाउँपालिका–२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशनकक्षमा सामान्य विधिबाट प्रसूति गराउनुभएको हो । साँझ ८ः०० बजे सुत्केरी व्यथा लागेर स्वास्थ्यचौकी आउनुभएकी ती महिला र उहाँका श्रीमान्को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हाल सुत्केरी महिला र बच्चा (छोरी)को स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीका अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा तथा स्वास्थ्यचौकीका कर्मचारी लक्ष्मी बयलकोटी र सञ्जु परियारले सामान्य विधिबाट सुत्केरी गराउनुभएको स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले जानकारी दिनुभयो । यसअघि शहरका अस्पतालमा सङ्क्रमित महिलाको प्रसूति गराइए पनि गाउँकै स्वास्थ्यचौकीमा आइसोलेशन सेन्टरमा गर्भवतीले बच्चा जन्माएको पहिलोपटक भएको बताइन्छ । स्वास्थ्यचौकीका इन्चार्ज घिमिरेले भन्नुभयो, “सुत्केरी व्यथा लागेपछि गाडी पठाउन आग्रह गरेपछि हामीले उहाँलाई स्वास्थ्यचौकीमा ल्याएका थियौँ, महिला र उहाँका श्रीमान्को परीक्षण गर्दा कोरोना पोजेटिभ आयो, गाउँमै पहिलोपटक कोभिड पोजेटिभ बिरामीको सुत्केरी गराउन पाउँदा खुशी भएका छौँ ।” सार्दीखोला स्वास्थ्यचौकीमा सामान्य अवस्थाका महिलाको सुत्केरी गराउने गरे पनि जटिल अवस्थाकालाई पोखरा सिफारिश गर्ने गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images