काठमाडौं – संघीयताविरोधी अभियानका अगुवा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ क्षेत्र नंं. १ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सूर्य पाठकले १८ हजार ८ सय २५ मत पाएका छन् । तेस्रो नम्बरमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८१ मत पाए ।
२०५६ र २०६४ सालमा तत्कालीन बागलुङ क्षेत्र नम्बर २ मा कांग्रेसलाई पराजित गरी संसद् पुगेका थिए । यो पटक भने कांग्रेससहितको सत्ता गठबन्धनको साथमा तेस्रो पटक निर्वाचित भएका हुन् । २०७० सालको संविधानसभामा बागलुङको प्रतिनिधित्व गरेर केसी समानुपातिक सभासद थिए ।
सत्ता गठबन्धनका साझा उमेदवारका रूपमा केसी उभिएका थिए । संघीयताविरोधी अभियान, एमसीसी र नागरिकता विधेयकमा समेत चर्को विरोध गर्दै आएका ८२ वर्षका केसीले एमालेका ४७ वर्षका पाठकलाई पराजित गरेका हुन् । सम्भवतस् अब बन्ने संसद्मा उनी सबैभन्दा ज्येष्ठ सदस्य हुनेछन् ।
बुढ्यौलीमा भए पनि केसीले आफ्नो निर्वाचन क्षेत्रका ३७ वटा वडा एक महिनामा डुलेका थिए । स्वतन्त्र पार्टीका कँडेलले आर्कषक मत ल्याउँदा केसीलाई कडा चुनौती थपिएको थियो । २०७४ को निर्वाचनमा केसी सहितको वाम गठबन्धनबाट एमालेका पाठक यो क्षेत्रबाट निर्वाचित भएका थिए । उनै पाठक ५ वर्षपछि केसीको प्रतिस्पर्धी बनेर आउँदा २ हजार ६ सय २६ मत अन्तर पारेर केसीले बाजी मारे । केसीका लागि राजनीतिक जीवनको यो नै अन्तिम निर्वाचन हो ।
‘मैले यही पटक पनि चाहेर लडेको होइन, देशको राष्ट्रियता र संविधान रक्षाका लागि बाध्यात्मक उमेदवारी हो,’ केसीले भने, ‘अघिल्लो पटक केपी ओलीलाई समर्थन गरेको थिएँ, उनैबाट संविधानमा धोका भएपछि कांग्रेससहितको गठबन्धनमा आउनु पर्यो ।’ संसद्मा पुगेर राजनीतिक क्षेत्रको विकृति र भ्रष्टाचारविरुद्ध आवाज उठाउने उनले प्रतिक्रिया दिए ।
‘राष्ट्र, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि यो अन्तिम लडाइँ हो’ केसीले भने, ‘मेरो बाटो सही रहेछ भनेर जनताले मत खसाले ।’ नयाँ दलमा मत विभाजन हुनुलाई केसीले नेतृत्वप्रतिको असन्तुष्टि भएको बताएका छन् । नेतृत्वले अब सुशासन र जनजीविकाबारे चासो राख्नुपर्ने नत्र आगामी चुनावमा स्वतन्त्र र नयाँ शक्तिहरूकै हातमा जाने उनको भनाइ थियो ।
काठमाडौँ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी शोविता गौतम निर्वाचित भएकी छन्। २७ बर्षकी गौतमले १५ हजार १२९ मत पाउँदै विजयी भएकी हुन्।
केसी २०१४ सालदेखि नै कम्प्युनिस्ट पार्टीको सदस्य बनेर राजनीतिमा होमिएका थिए । २०३१ सालमा केन्द्रीय सदस्य भएका थिए । २०४१ सालमा मसालको महामन्त्री र २०४४ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको अध्यक्ष भएका केसी २०५२ मा गठन नभएको राजमोको केन्द्रीय अध्यक्ष हुन् । उनी अध्यक्ष भएदेखि नै संघीयताको विरोध गर्दैछन् ।






















