कोरोना कहर र निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई लायन्स क्लव अफ तनहुँ व्यास सिटीले खाद्यान्न वितरण शुरु गरेको छ । विपन्न परिवारलाई सघाउन क्लवले स्थापना गरेको ‘फूड बैङ्क’ मार्फत् खाद्यान्न वितरण अभियान शुरु गरिएको हो । क्लवले २८ परिवारलाई खाद्यान्न उपलब्ध गराइसकेको छ । क्लवका अध्यक्ष कुमार मल्लले विपन्न परिवारलाई एक हप्ताका लागि पुग्ने खाद्यान्न सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो । क्लवको यो अभियानमा दमौलीकै विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । निषेधाज्ञाका कारण चुल्हो नबलेका परिवारको बारेमा जानकारी पाएलगत्तै क्लव सहयोगका लागि तयार रहेको प्रथम उपाध्यक्ष प्रदीप मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति परिवार दश केजी चामल, एक केजी दाल, एक केजी क्वाटी, एक पोका तेल, एक पोका भूजा लगायतका सामग्री उपलब्ध गराइएको छ । यसैगरी नेपाल रेडक्रस सोसाईटी तनहँु शाखाले तनहँुका विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि रेडक्रसले जिल्ला अधिकारी सागर आचार्य मार्फत विभिन्न क्षेत्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । रेडक्रसले दमौली अस्पताललाई २० थान पिपिई र ५० प्याकेट मास्क, पुरनडिही अस्पताललाई एक थान अक्सिजन कन्सनट्रेटर, २५ प्याकेट मास्क र ५ थान पिपिई, बन्दिपुर अस्पताललाई एक थान अक्सिजन कन्सनट्रेटर, २५ प्याकेट मास्क, ५ थान पिपिई, सशस्त्र, प्रहरी र नेपाली सेनालाई ३०÷३० प्याकेट मास्क सहयोग गरिएको छ । जिल्ला प्रशासन कार्यालयलाई सङ्क्रमितको शव व्यवस्थापनका लागि पाँच थान आवश्यक सामग्री समेत सहयोग गरिएको रेडक्रसकी मन्त्री चिनु पोख्रेलले जानकारी दिनुभयो । सदरमुकाम दमौलीमा रहेका बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको संस्था बैङ्कर क्लव अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनका लागि उक्त संस्थाले अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो । बैङ्कर क्लव अफ दमौलीका अध्यक्ष राजु रानाका अनुसार रु दुई लाख ५४ हजार बराबरको सामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको छ । यसैगरी लायन्स क्लव अफ तनहुँ दमौलीले पनि व्यास नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘बि’ २ नेपाल एरिया ‘घ’ ले देवघाट गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । क्लबका डिष्ट्रिक गभर्नर भट्टले कोरोना भाइरस सङ्क्रमणका कारण जटिल अवस्थामा पुगेका बिरामीको उपचारमा सघाउन अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताउनुभयो । उहाँले लायन्सले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री, स्वास्थ्य उपकरण वितरण गरिरहेको जानकारी दिनुभयो ।


विश्व खबर 




















