कोभिड–१९ को प्रभाव तनहुँ जिल्लामा पनि परेको छ । कोभिड जोखिम न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण सबै क्षेत्र अस्तव्यस्त छ । मजदूरी गरेर खाने विपन्न परिवारलाई सकस छ । गर्भवती, सुत्केरीलाई स्वास्थ्य संस्थासम्म जान समस्या छ । कोरोना कहरकै बीचमा जिल्लास्थित केही सङ्घसंस्था भने सामाजिक उत्तरदायित्व वहनमा लागेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ, जेसीआई व्यास नगर, जेसीआई शुक्लागण्डकी, नेपाल रेडक्रस सोसाइटी तनहुँलगायतका सङ्घसंस्था आफूले सकेको सहयोग गरिरहेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित जटिल अवस्थाका बिरामीलाई अक्सिजनको आवश्यकता छ । अक्सिजनको अभावमा कतिपय सङ्क्रमितले ज्यान गुमाउन पनि परेको छ । अक्सिजनको महत्व कति हुन्छ भन्ने अनुभव यसको अभावमा ज्यान गुमाएको सङ्क्रमित परिवारका सदस्यले बताउने गरेका छन् । कोरोना सङ्क्रमित कसैले पनि अक्सिजनको अभावमा मृत्युवरण गर्न नपरोस् भन्दै शुक्लागण्डकी जेसीजले आइसोलेशनलाई अक्सिजन सहयोग गरेको छ । जिपी कोइाला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनलाई २५ वटा ठूलो सिलिन्डरमा अक्सिजन भरेर सहयोग गरेको शुक्लागण्डकी जेसीजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको उहाँको भनाई छ । पोखरास्थित कालिगण्डकी अक्सिजन प्रालिबाट अक्सिजन भरेर ल्याइएको हो । कोरोनाले मुलुक सङ्कटमा फसेका बेला नियन्त्रणका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सक्नेले आर्थिक सहयोग गरौँ । नसक्नेले घरमै बसेर निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणका लागि सघाउ पुर्याउँ ।” यो समयमा अक्सिजनको ठूलो महत्व रहेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो । अस्पतालमा रहेको आइसोलेशनलाई सरकारसँगै सामाजिक संघसंस्थाले पनि अक्सिजन सहयोग गर्न थालेको उहाँले बताउनुभयो । वैशाख तेस्रो साता अस्पतालले आइसोलेशन सञ्चालनमा ल्याउँदा ८ वटा ठूलो र २४ वटा सानो अक्सिजनको सिलिन्डर थियो । डा.श्रेष्ठका अनुसार हाल ४८ वटा ठूलो अक्सिजनका सिलिन्डर थपिएका छन् । दोस्रो लहरको कोरोनाको महामारी फैलिएपछि तनहुँका १० वटै स्थानीय तह मिलेर निर्माण गरिएको भवनमा अस्पतालले ३० शय्याको आइसोलेशन सञ्चालनमा ल्याइएको छ । प्रत्येक शय्यामा अक्सिजनको पाइप जडान गरिएको छ । जिपीको आइसोलेशनमा हाल २६ जना सङ्क्रमित उपचाररत छन् । श्वासप्रश्वासका समस्या भएर अक्सिजन दिनुपर्ने अवस्थाका सङ्क्रमितलाई मात्रै यहाँको आइसोलेशनमा राख्ने गरिन्छ । तनहुँ उद्योग वाणिज्य सङ्घले दमौली अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन सङ्घले अस्पताललाई छ थान सिलिन्डर हस्तान्तरण गरेको हो । सङ्घले स्थापना गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानमार्फत् अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्घले केही दिन अगाडि दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, कालीभञ्जन गण (इ) लाई स्वास्थ्य सामग्री समेत सहयोग गरेको थियो । दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. पौडेलले अक्सिजन सिलिन्डर प्राप्त भएपछि सङ्क्रमितको उपचारमा सहयोग पुग्ने बताउनुभयो । सङ्घले खडा गरेको कोषमा देश तथा विदेशबाट सहयोग जुटिरहेको छ । सोही कोषबाट प्रशासन कार्यालयको समन्वयमा सङ्घले २५ थान अक्सिजन सिलिन्डर खरिद गरेर ल्याएको छ । जेसीआई व्यास नगरले अप्ठ्यारोमा परेकालाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको छ । निषेधाज्ञाका कारण एम्बुलेन्स नपाएका र समस्यामा परेका गर्भवती, सुत्केरी लगायतलाई जेसीआई व्यास नगरले निःशुल्क यातायात सेवा उपलब्ध गराएको हो । अभियान शुरु भएको दुई दिनमा नै जेसीआइले दुई जना महिलालाई सेवा दिइसकेको छ । गर्भवती भएर पोखरा जानुपर्ने भानु–६ निवासी अस्मिता अधिकारीलाई जेसीआई व्यास नगरले उद्धार गरी पोखरा पु¥याएको छ । दमौली अस्पताल आइपुग्नुभएकी उहाँलाई अस्पतालले पोखरा जान भनेपछि दमौलीस्थित अनसन चौतारामा अलपत्र परेको जानकारी पाएपछि उद्धार गरिएको जेसीआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । खनालले गर्भवती, सुत्केरी तथा अप्ठ्यारोमा परेका सबैलाई यातायात सेवा दिने बताउनुभयो । क्लबका पदाधिकारी अनुप दाहालले आफ्नो साधन निषेधाज्ञा अवधिभर उपलब्ध गराउनुभएको छ ।


विश्व खबर 




















