दोलखा – मंसिर ४ मा हुने चुनावका लागि दोलखाबाट प्रतिनिधि सभामा ७ स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये कोही पनि अहिलेसम्म सांसद चुनिएका छैनन्, त्यसैले दोलखाबाट प्रतिनिधिसभामा जो निर्वाचित भए पनि नयाँ अनुहार हुनेछन् ।
दोलखामा नेकपा एमालेबाट बालकृष्ण शिवाकोटी र सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की उम्मेदवार छन् । राप्रपाका सहायक महामन्त्री विजय खड्का पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् ।
दोलखाको चुनावी इतिहास एमालेको पक्षमा छ । २०५१ सालको मध्यावधि चुनावमा दोलखा–१ मा र २०६४ को संविधान सभा चुनावमा दोलखाका दुवै क्षेत्रमा एमालेले हार व्यहोरेको थियो । त्यसबाहेकका चुनावमा भने दोलखामा एमाले विजयी हुँदै आएको छ ।
पार्टीको संगठन र निर्वाचित सांसदले जिल्लाको विकासमा गरेको योगदानको आधारमा यसपटक पनि एमाले नै विजयी हुने एमालेका जिल्ला सचिव हिरा थोकर बताउँछन् ।
तर नेपाली कांग्रेसले भने एमालेका नेताहरुले जिल्लाका लागि केही नगरेको आरोप लगाएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव रञ्जितकुमार पाठकले एमालेले पटक–पटक चुनाव जितेर पनि दोलखाको विकासमा ठोस योगदान दिन नसकेको बताए ।
नेताहरु मन्त्री बने पनि जिल्लाको विकासमा काम नगरेका कारण यसपटक स्थानीय चुनावमा एमाले पराजित भएको उनको दावी छ । ‘एमालेबाट आजित भएका दोलखालीले स्थानीय तह निर्वाचनमा सात वटामा पालिकामा गठबन्धनलाई जिताई एमालेलाई दुई पालिकामा सीमित गरिदिएका छन्’, उनले भने ।
शिवाकोटीलाई चिठ्ठा
२०७४ अघिका चुनावमा प्रतिनिधि सभामा २ क्षेत्र रहेको दोलखामा आनन्दप्रसाद पोखरेलले २०५१ को मध्यावधि र २०६४ को संविधान सभा बाहेकका चुनाव जिते । उनी एक पटक पर्यटन मन्त्रीसमेत भए ।
२०७० सालमा पहिलोपटक चुनाव लडेका पार्वत गुरुङले २०७४ सालमा दोलखा एक क्षेत्र मात्र हुँदा पनि टिकट पाएर चुनाव जिते ।
२०७४ सालमा पोखरेलले चुनाव लड्ने अवसर पाएनन् । एमाले अध्यक्ष केपी शर्मा ओली निटक मानिने यी दुबै नेता यसपटक दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । दुई नेताबीच एकले अर्कालाई उम्मेदवार नस्वीकार्ने देखिएपछि ओलीले युवा व्यवसायी शिवाकोटीलाई टिकट दिएको दोलखाका एमाले नेताहरु बताउँछन् ।
जलविद्युत, केबलकारलगायतका व्यवसाय सञ्चालन गरिरहेका शिवाकोटीले पनि ओलीसँग व्यक्तिगत सम्बन्ध बनाएका छन् ।
अवसर नपाएका कार्की
दोलखाका गंगा कार्की र रितबहादुर खड्का तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धमा सँगै भूमिगत भएका थिए ।
२०५९ साल असारमा रौतहटमा सुरक्षाफौजले गरेको कारबाहीमा खड्काको मृत्यु भयो । पार्टी शान्ति प्रक्रियामा आएपछि रितबहादुरकी बहिनी देवी खड्का र भाइ विशाल खड्काले माओवादी केन्द्रबाट पटक पटक अवसर पाए ।
२०६४ को संविधान सभा चुनाव जितेकी देवी २०६८ सालमा मन्त्री बनिन् । २०७० सालको दोस्रो संविधानसभा चुनावमा देवीका भाइ विशालले प्रतिस्पर्धा गरेका थिए । २०७४ मा वाम गठबन्धन हुँदा प्रतिनिधि सभामा एमालेले पायो र गुरुङ निर्वाचित भए । देवीका भाइ विशालले प्रदेश सभा १ बाट चुनाव जिते । र उनी बागमती प्रदेशमा मन्त्री भइसकेका छन् ।
तर रितबहादुरसँगै सशस्त्र युद्धमा सामेल भएका कार्कीलाई यो पटक अवसर दिएर माओवादी केन्द्रले न्याय गरेको माओवादीका नेताहरु बताउँछन् । कार्की खड्का परिवारका ज्वाइँसमेत हुन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुलबहादुर बुढाथोकी कार्कीले टिकट पाएपछि पुराना र पार्टीमा निस्कृय भइसकेका कार्यकर्ताहरु फेरि सकृय हुन थालेको बताउँछन् ।


विश्व खबर 


















