images
images
  • डलर अर्बपति विनोद चौधरीको आग्रह , ‘मनदेखि सहयोग गर्नुहोस् धनले सहयोग गर्नु पर्दैन’

    काठमाडौं डलर अर्बपति विनोद चौधरीले आगामी निर्वाचनमा सहयोग गर्न उद्योगी व्यवसायीसँग आग्रह गरेका छन् ।

    नेपाली कांग्रेसका तर्फबाट नवलपरासी पश्चिम क्षेत्र नम्बर-१ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका चौधरीले दीपावलीको अवसरमा उद्योगी व्यवसायीलाई घरमा बोलाएर निर्वाचनमा सहयोग मागेका हुन् ।

    गत असोज २३ गते प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएपछि नवलपरासी पश्चिममा रहेका चौधरी लक्ष्मी पुजा गर्न काठमाडौं आएका थिए ।

    सोही अवसरमा चौधरीले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ आवद्ध ठूला उद्योगी व्यवसायीलाई बोलाएर प्रतिनिधिसभाको निर्वाचनमा सहयोग मागेका हुन् ।

    ‘निर्वाचनमा तन, मन र धनले सहयोग गर्नु पर्छ भन्छन्,’ चौधरीले व्यवसायीलाई भने,‘ अहिले मलाई धनले सहयोग गर्नु पर्दैन । तर, तपाईंहरु सबैबाट तन र मनले सहयोगको अपेक्षा गरेको छु ।’

    चौधरीले बाहिर बसेर राजनीति गर्दा अपेक्षाअनुसार नीतिगत सुधार गर्न नसकेकाले प्रत्यक्ष निर्वाचन लड्न लागेको बताए ।

    ‘दुईपटक समानुपातिक सांसद् हुँदा पनि अपेक्षा अनुसार सुधार हुन गर्न सकिएन,’ चौधरीले भने,‘प्रत्यक्ष निर्वाचित भएर आउँदा नीतिगत सुधार गर्न सकिन्छ भन्ने विश्वास छ । तपाईंहरुले तन र मनले सहयोग गर्नु भयो भने निर्वाचनमा मेरो जित सुनिश्चित छ ।’

    नवलपरासीको क्षेत्र नम्बर १ मा चौधरीको जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धा हुन लागेको छ ।

    त्रिपाठीलाई नेकपा एमालेले समेत समर्थन गरेको छ । २०७४ सालको निर्वाचनमा पनि त्रिपाठी एमालेको सहयोगमा निर्वाचित भएका थिए।

    नवलपरासीको क्षेत्र नम्बर एकमा सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका गरी तीन स्थानीय तह पर्छन् । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा तीनैवटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको थियो ।

    चौधरीलाई गठबन्धको पनि साथ रहेकोले त्रिपाठीसँगको प्रतिस्पर्धा रोचक हुने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images