काठमाडौं । कतारमा आप्रवासी श्रमिकमाथिको दुर्व्यवहार अझै नरोकिएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले गरेको अध्ययन अनुसार देशभर आप्रवासी श्रमिकको हकमा ल्याउनुपर्ने सुधारबारे कतारले गरेको प्रतिबद्धता अझै पूरा नगरेको पाइएको हो। कतारले विश्वकप प्रतियोगिताअघि आप्रवासी श्रमिकका विषयमा गरेको प्रतिबद्धता पूरा नगरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
विश्वकप फुटबल सुरू हुन एक महिना मात्र बाँकी रहेका बेला मानवअधिकारवादी संस्थाहरूले फिफा र कतारलाई दुर्व्यवहारमा परेका आप्रवासी श्रमिकको लागि क्षतिपूर्ति कोष स्थापना गर्न पुनः आह्वान गरेका छन् । सन् २०१७ देखि कतारले श्रम प्रणालीमा ल्याएको सुधारले २० लाख आप्रवासी श्रमिकलाई केही राहत मिलेको एम्नेस्टीले जनाएको छ । ती सुधारले श्रमिकहरू विश्वकपका लागि आवश्यक परियोजनाहरूमा संलग्न हुन सकेको एम्नेष्टीको ठहर छ। तर, प्रभावकारी कार्यान्वयनको अभावले आप्रवासी श्रमिकहरूमाथिको दुर्व्यवहार अझै नरोकिएको जनाएको छ । यस्तो खालको दुव्यर्वहारले सुधार प्रक्रियाले पार्न सक्ने प्रभावलाई कमजोर बनाइरहेको एम्नेस्टीको भनाइ छ ।
सबै परियोजनाका हजारौँ श्रमिकहरूले अझै पनि तलब नपाउने वा ढिला पाउने, आरामका लागि छुट्टी नपाउने, असुरक्षित अवस्थामा काम गर्नुपर्ने, काम परिवर्तन गर्नमा अवरोध तथा न्यायमा सीमित पहुँचको सामान गरिरहेको एम्नेस्टीले जनाएको छ । अर्कोतिर कतारमा हुने हजारौं श्रमिकको मृत्युको अनुसन्धान हुन नसकेको एम्नेस्टीले जनाएको छ। एम्नेस्टी इन्टरनेसनका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले कतारले ५ वर्षमा श्रम अधिकारमा महत्वपूर्ण फड्को मारेपनि अझै धेरै काम गर्न बाँकी रहेको बताए । कानूनमा भएका छिद्रहरू तथा कानुनको अपर्याप्त कार्यान्वयनका कारण हजारौं श्रमिकहरू अझै पनि शोषण र दुर्व्यवहारमा फसिरहेको बताए ।
श्रमिकमाथि ज्यादती बढेपछि सन् २०२२ को मे महिनामा ‘पेअपफिफा अभियान’ सञ्चालन गरिएको थियो । उक्त अभियानको क्रममा फिफा र कतारी अधिकारीलाई क्षतिपूर्ति दिन र भविष्यमा हुने दुर्व्यवहारहरू रोक्नका लागि एक विस्तृत क्षतिपूर्ति कार्यक्रम स्थापना गर्न भनिएको थियो । त्यस्तै एम्नेस्टीले कतारमा कार्यरत घरेलु कामदारमाथिको दुर्व्यवहार तथा ज्यादतीमाथि कुनै सुधार आउन नसकेको जनाएको छ । घरमै बस्ने घरेलु श्रमिकहरूको लागि काम गर्ने अवस्था नियमन गर्ने कानून, न्यायमा पहुँच सहज गर्न श्रम न्यायाधीकरण, तिर्न बाँकी ज्यालाको भुक्तानीलाई सहयोग गर्न एक कोष र न्यूनतम पारिश्रमिक लगायतका सुधार गर्न भनिएको थियो । तर, अहिलेसम्म पनि सुधार हुन नसकेको जनाएको छ ।
घरेलु र सुरक्षा क्षेत्रमा काम गर्ने श्रमिकहरू अझै पनि जबर्जस्ती काम गर्नुपर्ने अवस्थामा रहेको जनाएको छ । घरेलु श्रमिकहरू अझै पनि सामान्यतयाः दिनको १४ देखि १८ घण्टासम्म हप्ताको एक दिन पनि बिदा नलिई निजी आवासमा एक्लिएर काम गर्न बाध्य रहेको एम्नेस्टीले जनाएको छ । त्यस्तै सुरक्षा गार्डहरूले समेत आराम गर्नका लागि समेत छुट्टी नपाउने अवस्था रहेको जनाएको छ । उनीहरूलाई दिइने तलबमा समेत मनोमानी चलिरहेको छ । यतिसम्म कि उनीहरूको राहदानी नै जफत गरेर कडा श्रममा लगाउने गरेको पाइएको एम्नेस्टीले जनाएको छ ।


विश्व खबर 















