images
images
  • राम्रो रोजगारीको नाममा भारतमा पुर्याएर नुवाकोटको एकै गाउँका १५ बढिको मिर्गौला झिकियो !

    नुवाकोट- विपन्न नागरिकलाई आर्थिक प्रलोभनमा पार्दै भारत लगेर मिर्गौला बिक्री गर्ने गिरोह सक्रिय छ । यो गिरोहले काठमाडौंसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिकाका एउटै गाउँका १५ जनाभन्दा धेरैको मिर्गौला बिक्री गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    गाउँकै स्थानीयलाई प्रयोग गरी गिरोहले रोजगारीको प्रलोभनमा भारतको कोलकाता लैजाने र झुक्याएर मिर्गौला निकाल्ने गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । मिर्गौला निकालिएका एक पीडितले उजुरी दिएको र अन्य पीडितको पनि खोजी भइरहेको ब्युरोका एसपी दानबहादुर मल्लले बताए ।

    ‘एउटै गाउँका धेरैजनालाई कोलकाता पुर्‍याएर मिर्गौला निकालिएको हाम्रो अनुसन्धानमा देखिएको छ,’ एसपी मल्लले भने, ‘केहीलाई पक्राउ गरेका छौँ, यसमा ठूलै गिरोहको संलग्नता हुन सक्ने अनुमान छ, त्यसमा अनुसन्धान चलिरहेको छ ।’

    मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले शिवपुरी गाउँपालिका वडा नम्बर ६ र ७ का चारजनालाई पक्राउ गरिसकेको छ । सानु भन्ने सुवास नेपाली, मुरली दमाईं, राजु नेपाली र राजेश परियारलाई पीडितको उजुरीका आधारमा २२ साउनमा पक्राउ गरिएको थियो । उनीहरू सबै जेल चलान भएका छन् । उनीहरूले शिवपुरीकै एक स्थानीयलाई मःम पसलमा काम लगाइदिने भन्दै कोलकाता पुर्‍याएर इच्छाविपरीत अस्पतालमा भर्ना गराएर अर्को व्यक्तिमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

    पक्राउ परेकामध्ये ४६ वर्षीय मुरली दमाईं आफैँ पनि पीडित पनि हुन् । करिब १५ वर्षअगाडि आफूले एउटा मिर्गौला बिक्री गरेको उनले प्रहरीसँग स्विकारेका छन् । परिवारका एक सदस्यको मृत्युपछि ऋण लागेको र त्यही ऋण तिर्न आफूले मिर्गौला बिक्री गरेको उनको बयान छ । पछि गाउँका अन्य व्यक्तिको मिर्गौला बिक्री गर्न पनि उनले सहजीकरण गरिदिएका थिए । आफूले मिर्गौला बेच्दा केही नभएको भन्दै अरूलाई पनि उनले उस्काउने गर्दथे । ग्रहणकर्ता र दाताबीच सहजकर्ताका काम मुरलीले गर्दै आएको प्रहरी दाबी छ ।

    पक्राउ परेकामध्ये सुवास नेपालीको भने भारतीय गिरोहसँग सम्बन्ध देखिएको छ । पीडित र पक्राउ परेका व्यक्तिले बताएअनुसार गाउँका कम्तीमा १५ जनाले त्यसरी मिर्गौला बिक्री गरिसकेका छन् । बिक्री गर्नेहरू चरम गरिबीको जीवन बाँचिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा विपन्नता र अशिक्षाकै कारण एउटै गाउँका धेरै व्यक्तिले मिर्गौला बेचेको पाइएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए ।

    शिवपुरी गाउँपालिकामा पर्ने साबिकको सुनखानी गाविसमा धेरै पीडित रहेको प्रहरी अधिकारीहरूको भनाइ छ । स्थानीय धेरै पीडित हुन थालेपछि प्रहरीले अनुसन्धानका साथै जनचेतना कार्यक्रम पनि सुरु गरेको छ । जसअन्तर्गत सोमबार सुनखानीनजिकै पर्ने नुवाकोटको लिखुमा प्रहरीले स्थानीय तह तथा विभिन्न संघसंस्थासँग मिलेर जनचेतनामूलक कार्यक्रम गरेको छ । एसपी मल्लले सोमबार आफैँ गाउँमा पुगेर स्थानीयलाई मिर्गौला बेच्ने समूह सक्रिय भएकाले झुटो आश्वासनमा नपर्न आग्रह गरे ।

    शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले केही गाउँका विपन्न नागरिकलाई आर्थिक प्रलोभनमा पारेर भारत लगेर मिर्गौला बेच्ने गरेको सूचना आएको र आफूहरूले अध्ययन पनि थालेको बताए । ‘केही बस्तीका धेरै व्यक्तिले मिर्गौला बेचेका छन् भन्ने सुनिएको छ,’ उनले भने, ‘सोधपुछ गर्दा धेरै खुल्न चाहनुभएको छैन, यसमा अध्ययन गरेर हामी जनचेतनासम्बन्धी कार्यक्रम गर्ने तयारीमा छौँ ।’

    सुनखानीका स्थानीय खुलेर बोल्न डराउँछन् । भर्खरै गाउँका चारजना पक्राउ परेको र धेरैलाई आफन्तले नै भारत पुर्‍याएर मिर्गौला बिक्री गर्न लगाएकाले आफूसमेत फस्ने डरले बोल्न नचाहेको एक स्थानीयले नयाँ पत्रिकालाई सुनाए । उजुरी नगर्दा मिर्गौला बेच्ने व्यक्ति पनि दोषी हुने भएकाले धेरै पीडित यस विषयमा बोल्न डराउने गरेका छन् ।

    न्याय मागिरहेका एक पीडितको बयान : ३० हजार भारु तलबको जागिर दिने भन्दै कोलकाता पुर्‍याए, बेहोस बनाएर मिर्गौला निकाले

    ०७८ को वैशाखमा म नुवाकोटको छहरे गाउँमा व्रतबन्धमा बाजा बजाउन गएको थिएँ । त्यहीँ गएका वेला मुरली दमाईंलगायतले ‘गाउँमा यसरी बाजा बजाएर के बस्छस्, राम्रो जागिर लगाइदिन्छु’ भने । भारतको एक मःम पसलमा जागिर लगाइदिने र मासिक ३० हजार भारु तलब मिलाइदिने प्रस्ताव गरे । बेरोजगार मलाई प्रस्ताव ठीकै लागेर स्विकार गरेँ ।

    स्थानीय राजु परियार र राजेश नेपालीले मलाई गाउँबाट काठमाडौं पुर्‍याए । काठमाडौंमा सुवास नेपालीसँग भेटघाट गराए । भारत जान कोरोना जाँच गर्नुपर्छ भन्दै सामाखुसीको एक मेडिकलमा लगेर ब्लड टेस्ट गरियो । सोही दिन बेलुका अन्य दुई व्यक्तिले मलाई काँकडभिट्टा नाका हुँदै कोलकाता पुर्‍याए । त्यहाँ लगेर मलाई अर्को समूहको जिम्मा लगाइयो ।

    त्यो समूहको एक व्यक्तिले आफ्नो बुबालाई मिर्गौला चाहिएको र त्यसबापत ६ लाख रुपैयाँ दिने बताए । मैले मानिनँ । मिर्गौला नदिए बाँचेर नेपाल पनि नफर्कने भन्दै धम्क्याए । त्यसपछि मलाई रवीन्द्रनाथ टेगोर अस्पतालमा लगेर बेहोस बनाइयो । मेरो मिर्गौला निकालियो ।

    तीन हप्तापछि उनीहरूले नै काठमाडौंको गौशालामा ल्याएर छाडिदिए र ६ लाख रुपैयाँ दिए । मिर्गौला झिकिएपछि मेरो स्वास्थ्य राम्रो हुन सकेको छैन । चिरिएको ठाउँमा निरन्तर दुख्ने गर्छ । परिवारसँग सल्लाह गरेँ, उनीहरूले पनि ‘अवैध काम भयो, प्रहरीमा उजुरी दिनुपर्छ’ भने । तर, मलाई भारत पुर्‍याउनेले कतै उजुरी नगर्न धम्क्याए । जागिर दिने प्रलोभनमा झुक्याएर मेरो मिर्गौला निकाल्नेमाथि कारबाही होस् भनेर प्रहरीमा उजुरी दिएको हुँ । मेरो ज्यानमाथि खेल्ने अपराधीलाई कारबाही हुनुपर्छ । -आजको नयाँ पत्रिकाबाट

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images