काठमाडौं- नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । आइतबार प्रदेश नम्बर १ लाई १३ रनले पराजित गर्दै सुदूरपश्चिमले पहिलो जित निकालेको हो । सुदूरपश्चिमको यो जारी प्रतियोगितामा पहिलो जित हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ७ विकेट गुमाएर मात्र १३१ रन बनायो ।
प्रदेश १ लागि दिपेश कँडेलले अविजित सर्वाधिक ३४ रनको योगदान गरे । सुदूरपश्चिम प्रदेशका मिलन बोहोराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि बसन्त खत्रीले ५३ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै मिलन बोहोराले ४४ रन बनाए । प्रदेश १ का लागि कप्तान फिर्दोस अन्सारीले ३ विकेट लिए । जितसँगै सुदूरपश्चिमको टोलीले ३ खेलमा ४ अंक जोडेको छ । प्रदेश १ ले ३ खेलबाट २ अंक जोडेको छ । यस समूह ‘बी’ मा एनआरएनए ५ अंक सहित शीर्ष स्थानमा रहेको छ ।
सुदूरपश्चिम पहिलो खेलमा एनआरएनएसँग १२ रनले पराजित भएको थियो । बागमतीसँग भने सुदूरपश्चिमले अंक बाँडेको थियो । सुदूरले अव भदौ २८ मा मुलपानीमा एपिएफसँग खेल्नेछ ।
प्रदेश १ ले पहिलो खेल बागमतीसँग वर्षाको कारण अंक बाँडेको थियो । प्रदेश १ ले एपिएफसँग पनि वर्षाको कारण बाँडेको थियो । प्रदेश १ ले सोमबार एनआरएनसँग खेल्नेछ ।


विश्व खबर 


















