लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सोही ठाउँका कर्मा छुमु गुरुङ, धर्म महर्जन (साङ्ग्रिला होटल), अनिता गुरुङ र कर्मा घलेको घर पूर्णरूपमा क्षति भएको छ भने रिमजिम डोल्कर लामाको घरमा आंशिक क्षति पुगेको छ । चार घरका २३ सदस्या त्यस क्षेत्रबाट पूर्णरूपमा विस्थापित भएको लामिछानेले बताउनुभयो । “विस्थापित भएका सबैको घरको पछाडिको भाग पूर्णरूपमा भत्किएको छ, विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो । खोलाको डुबानमा परेका घरहरुबाट सामग्रीहरु समेत स्थानान्तरण गरिसकिएको प्रजिअ लामिछानेले बताउनुभयो । घट्टेखोलाको बाढीले सोही स्थानमा रहेको पक्की पुललाई समेत असर गरेको उहाँको भनाइ छ । बाढीले पुलमा काठ, ढुङ्गा र माटोले पुरेकामा सबै हटाउन भ्याइएको उहाँले बताउनुभयो । नयाँबजारको वर्कसपमा खोलाको डुबानमा परेका सात वटा मोटरसाइकल समेत निकालिएको छ । स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी त्यस क्षेत्रको जनजीवनलाई सहज बनाउने कार्य गरिएको छ । बाढीले अनिताको घरमा मिलन गुरुङले फ्रेस हाउस र कर्मा घलेले किराना पसल सञ्चालन गर्नुभएको थियो । स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा बाढी प्रभावित क्षेत्रको सरसफाइ गरिएको छ । त्यस्तै कोभिड–१९ को महामारीमा बाढीले त्यस क्षेत्रका सर्वसाधारणलाई एकै ठाउँमा बस्नुपर्ने बाध्यता आएपछि यहाँका स्थानीयवासी आतङ्कित बनेका छन् । सङ्क्रमणमा एकै ठाउँमा जम्मा हुँदा एकअर्कोमा सर्नसक्ने भन्दै त्रसित बनेका हुन् ।
प्रकाशित मिति २०७८ जेठ १८ गते मङ्गलबार ०८:३५