काठमाडौं- नेपाल आयल निगमको बदमासी र उपभोक्तालाई मारमा पार्ने प्रवृत्ति एकपटक पुन उजागर भएको छ । भारतबाट किनेर ल्याएको डिजेल र मट्टितेलको मूल्यमा थप गरेर उपभोक्तालाई बेच्दा पनि घाटा भयो भनेर हिसाब देखाउने निगमले पछिल्लो समय त झनै बदमासी गर्दै आएको छ । भारतबाट मूल्य घटेर आउँदा नेपालमा मूल्य घटाउन निगमले निकै आनाकानी गर्छ । तर थोरै मूल्य बढेर आउने वित्तिकै नेपालमा पनि निगमले उपभोक्ताको ढाड सेकिनेगरी भाउ बढाइहाल्छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाएको थियो । तीन पटकसम्म भाउ घटेर आउँदा निगम चुपचाप बस्यो । घटाउने सुरसारै गरेन । उपभोक्तालाई निगमले एक हिसाबले ठगेको नै उपभोक्ता अधिकारवादी बताउँछन् । तर विहीबार भने दिउँसो भारतबाट बढेर आएको केहि घण्टा नबित्दै निगमले भाउ बढाइहाल्यो ।
‘भदौ १६ गते प्राप्त मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ १९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा बढेर आएको छ । मट्टीतेल र ग्यासको मूल्यमा केही घटेर आए पनि ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय ७८ रुपैयाँ ७ पैसा घाटा छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिलिटर डिजेलमा ११ रुपैयाँ १८ पैसा घाटा र पेट्रोलमा २ रुपैयाँ ८२ पैसा नाफा छ । समग्र्रमा निगमलाई १५ दिनमा ४८ करोड २४ लाख घाटा हुने स्थिति छ ।’
अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ । मूल्य वृद्धिपश्चात् निगमको पाक्षिक नोक्सानी ३० करोड ५२ लाख छ । आईओसीलाई तिर्नुपर्ने बक्यौता, वाणिज्य बैंक र सरकारलाई ऋण तिर्नुपर्ने बाध्यताले दबाब रहेको निगमले जनाएको छ ।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि
निगमले बिहीबार रातीबाट लागू हुने गरी डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । मुल्यवृद्धिपछि डिजेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ ।
पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक बर्षको घाटालाई देखाएर नेपाली बजारमा मुल्य समायोजन गर्न नमानेको आयल निगमले बिहीबार दिउँसो नयाँ मूल्य पाउनासाथ मुल्य बढाएको हो । आइओसीले बिहीबार दिउँसो पठाएको नयाँ मुल्य अनुसार पेट्रोल १.३९ रुपैयाँ, डिजेल ६.१२ रुपैयाँ र हवाइ इन्धन ८.०१ रुपैयाँ बढेर आएको थियो ।
त्यसपछि निगम संचालक समितिको साँझ बैठक बसी मूल्य बढाउने निर्णय भएको हो । दसैंको मुखमा डिजेलको मुल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाँडादर बढ्ने निश्चित भएको छ । मूल्यवृद्धि पछि पनि निगमलाई अझै पाक्षिक रुपमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ ।


विश्व खबर 



















