काठमाडौं- फक्सवागेनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ स्कीम पूर्णत फाइनान्स सुविधामा केन्द्रित रहेको छ ।
कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी किन्ने ग्राहकलाई ०.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको छ । यो स्कीममा गाडी किन्ने ग्राहकले निकै उत्कृष्ट फाइनान्स स्कीम पाउने कम्पनीको दावी छ । ‘हामीले बजारमा रहेको तरलता अभावका बीच ग्राहकलाई सस्तोमा कर्जा उपलब्ध गराउने स्कीम ल्याएका छौं । अहिले बजारको औषतको तुलनामा निकै सस्तो ब्याजदरमा कर्जा ल्याएको कारण धेरै मानिसको गाडीको आवश्यकता पुरा हुने अपेक्षा गरेको छौं’, पुजा इन्टरनेशनल नेपालका एसिस्टेन्ट जनरल मेनेजर विवेक बलामीले भने । दशैंको मुखमा आएको यो कर्जा स्कीममा ब्याजदर परिवर्तन नहुने भएको कारण गाडी किन्ने मानिसलाई बढ्दो ब्याजदरको चिन्ता पनि नहुने बलामीले बताए । यस्तो छ ब्याजदर कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी टाइगुनमा तीन फरक ब्याजदर स्कीम दिएको छ । यी तीन वटैको ब्याजदर अहिलेको बैंकिङ क्षेत्रको औषतभन्दा निकै कम हो ।
अहिले बजारमा वाणिज्य बैंकहरुको औषत अटो लोनको ब्याजदर १५ प्रतिशत हाराहारी छ । तर, कम्पनीले सबैभन्दा धेरै ९.९९ प्रतिशत ब्याजदर लाग्नेगरी स्कीम ल्याएको छ । यदि कसैले ६ वर्षको लागि कर्जा लिन चाहेको खण्डमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर लाग्ने छ । साथै, ५ वर्षको लागि कर्जा लिने मानिसले ७.९९ र ३ वर्षको लागि मात्रै कर्जा सुविधा लिने ग्राहकले ०.९९ प्रतिशत ब्याजदर तिर्दा पुग्छ । पुजा इन्टरनेशनल नेपालले पोलो र भेन्टो लगायतका गाडीमा भने ६ वर्षको मात्रै फाइनान्स सुविधा दिएको छ । यसमा ग्राहकले ९.९९ प्रतिशत ब्याजदर तिर्नु पर्छ । यी सबै ब्याजदर अपरिवर्तनिय हुन् ।

कति पर्छ टाइगुनको मासिक किस्ता ?
कम्पनीले ल्याएको फरक स्कीम अनुसार टाइगुको मासिक किस्ता कति पर्छ भन्ने विषय धेरैको चासो हुनु स्वभाविक हो । फक्सवागेन टाइगुनको सुरुवाती मूल्य ५५ लाख ९० हजारदेखि टप भेरियन्टको ७९ लाख ५० हजार रुपैयाँसम्म छ । अहिले ७१ लाख ५० हजार मूल्यको हाइलाइन अटोमेटीक भेरियन्टको केही यूनिट स्टक रहेको कम्पनीले जनाएको छ । गाडी किन्ने मानिसले मूल्यको ५० प्रतिशत सुरुमै डाउन पेमेन्ट बुझाउनु पर्छ ।
सबैभन्दा पहिला ९.९९ प्रतिशत व्याजदरमा कति मासिक किस्ता पर्न आउँछ । यसमा ग्राहकले ६६ हजार २१२ रुपैयाँ मासिक किस्ता बुझाउनु पर्छ । त्यसैगरी ५ वर्षमा कर्जा भुक्तानी गर्नेगरी यही भेरियन्ट किन्ने ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा कर्जा पाउने छन् ।यो स्कीममा गाडी किन्ने मानिसले गाडीको मूल्यको ५० प्रतिशतले हुन आउने ३५ लाख ७५ हजार डाउन पेमेन्ट र त्यतिनै रकम कर्जा लिन सक्ने छन् । यो स्कीममा ग्राहकले मासिक ७२ हजार ४७१ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । सबैभन्दा थोरै ब्याजदरमा गाडी किन्ने ग्राहकले ३ वर्षमा कर्जा भुक्तानी गर्नु पर्ने हुन्छ । तीन वर्षमा तिर्नुपर्ने यो स्कीममा गाडी किन्ने ग्राहकले मासिक १ लाख ८२९ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।


विश्व खबर 



















