काठमाडौं– गरिबीको चपेटामा परी आफ्नो छोरालाई बिदेश पठाएर घरको आर्थिक समस्या केही हदसम्म भएपनि सुधार्ने सोच बनाएर १ लाख पचाँस हजार ऋण लिएका थिए राम सुभग मुसहरले । सुखी अनि खुशीयाली जीवनको कल्पना गरेर लिएको ऋणले गर्दानै उनको जीवनको सबै सुख हराउदैँ गयो । त्यही पैसानै उनी लगाएत परिवारको दुःखको कारण बनिदियो ।
नवलपरासीस्थित सुस्ता गाउँपालिका घर भएका राम सुभग अहिले काठमाडौंको माइतीघर अगाडी न्याय खोज्दै धर्ना बसेका छन् ।
उनले २०७१ सालमा जेठो छोरा रामनाथ मुसहरलाई रोजगारको सिलसिलामा मलेसिया पठाउँनको लागि एक लाख पचाँस हजार मिटर व्याजमा जग्गा दृष्टिबन्धक राखेर ऋण लिएका थिए । उनका अनुुसार एक सय रुपैयाँको मासिक ५ रुपैयाँ अथात ५ प्रतिशत व्याजमा १ लाख पचाँस हजार पैसा ऋण लिएका रहेछन् ।
उनले जगदिश कानुसँग ऋण लिएका थिए । जगदिश कानुले जग्गा दृष्टिबन्धक राख्ने अनि तमसुक कागज समेत बनाएर मिटर व्याजमा पैसा दिने गर्छन् । राम सुभगले दुःख परेर छोरालाई विदेश पठाउँने क्रममा व्याजको त्यती वास्ता गरेनन् र आफ्नो नामको जग्गा जगदिश कानुको श्रीमतीको नाममा दृष्टिबन्धक राखी सजिलै तमसुक कागजपनि बनाइदिए ।
छोरालाई विदेश पठाउँन ऋण लिएका उनले छोराले विदेशमा पनि राम्रो काम नपाएको गुनासो गर्छन । ऋण दिएको केही समयपछि जगदिशले पैसा फिर्ता गर्न ढिलो भयो भन्दै पटक पटक धम्की दिएपछि उनले आफुसँग भएको केही जग्गा बचेर व्याजसहित ९ लाख दिएको बताउँछन् ।
जगदिशले ९ लाख मात्र दिएर व्याज नपुग्ने भनेपछि उनले त्यही गाउँको आर्को मिटर व्याजी सन्दिप जोशीसँग सम्पर्क गरेर साढे ४ लाख ऋण लिएर जगदिशलाई दिए । त्यती गर्दा पनि पहिला दृष्टिबन्धक राखेको जग्गा र तमसुक कागज फिर्ता नगरेको बताए । उनले नवलपरासी जिल्लाका डिएसपीको सहयोग लिन खोज्दा पनि सहयोग नगरेको दुःख पोख्दै भने “कानूनले पनि हामी जस्तो पीडितलाई सुनेन” । उनले भने, “जगदिशले डिएसपीको अगाडी ५० लाख दिए पनि जग्गा फिर्ता गर्दीन भन्दा डिएसपीले केही पनि गरेनन् ।”
अर्को तर्फ, जगदिशलाई दिनको लागि सन्दिपसँग लिएको ४ लाख ५० हजारले पनि तेस्तै उठीबास लगाएको सुनाउँछन उनी । सन्दिपसँगपनि उनले जग्गा दृष्टिबन्धक राखेर पैसा लिएका थिए । तर सन्दिपले झुक्काएर जग्गा छिनुवा पास गरेको र पैसा पनि साढे ४ लाखको सट्टा ९ लाख दिएको भनेर प्रमाण पत्र बनाएको बताए । उनले आफ्नो दैनिकी चलाउनको लागि सेकेन्ड ह्यान्डको जेसिबी किनेका रहेछन् । सन्दिपको ऋण तीर्ने क्रममा आफुसँग भएको जेसिबी बेचेर ९ लाख ४० हजार पैसा बुझाएको बताउँछन् उनी ।
“म सँग जेसिबी छ पैसा कमाएर दिन्छु भन्दा पनि उसले मलाई दम्कायो अनि मैले जेसिबी बेचेर पैसा दिए, उनले भने, जग्गापनि आफ्नो नाममा गरेर अरुलाई बेचिसकेको रहेछ ।” सन्दिपले धम्काउदौँ केही गर्न सक्दैनौँ, जे गर्ने हो गर भन्ने गरेको उनले सुनाए ।
उनी भन्छन् ‘आफैंलाई अप्ठ्यारो परेको थियो, त्यसैले जग्गा दृष्टिबन्धक राखेर ऋण लिए, दृष्टिबन्धक राखेको जग्गा साहूले हडपिदिए । अरु भएको जग्गापनि बेचेर व्याज तिर्दा अहिले भूमिहीन भएको छु ।’
राम सुभग मुसहर एक प्रतिनिधि पात्र मात्र हुन् । नेपालमा मिटर व्याजमा पैसा दिने प्रचलन बढ्दै गएको छ । ग्रामीण भेगका अशिक्षित व्यक्तिहरुलाई लक्षित बनाइ मिटर व्याजमा पैसा दिएर लाखौं असुल्ने साथै घर जग्गा हडप्ने गरेको धेरै नै उदाहरण छन् नेपालमा । तर पीडितहरुले आफ्नो गुनासो कसैले नसुनेको बताउँछन् । माइती घर अगाडि धर्ना दिएर बस्ने हरेक पीडितको व्यथा राम सुभग मुसहरको जस्तै दर्दनाक छ ।
सबै पीडितको मागलाई सम्बोधन गदै गत श्रावन २८ गते गृहमन्त्रालयले प्रकाशन गरेको सूचनामा सरकारले मिटर व्याजी विरुद्ध भदौ ५ गतेसम्म उजुरी दिन पीडितलाई आह्वान गरेको थियो । सरकारले मिटर व्याजजस्तो गैरकानूनी अपराधलाई नियन्त्रणमा ल्याउनको लागि कार्यदल गठनसमेग गरेको थियो । गृहमन्त्री बालकृष्ण खाँणले गृहका सह–सचिव भीष्म भुसालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।
पीडितलाई मिटर व्याजी विरुद्ध उजुुरी दिन आह्वान गरेपछि उजुरी दिने अन्तिम दिन भदौ ५ गतेसम्म देशभरी १८ सय ३२ जनाले उजुरी दिएका छन् । देशको सातै प्रदेशबाट उजुरी परेको कार्यदलका संयोजक सह–सचिव भीष्मकुुमार भुसालले जानकारी दिएका छन् । उनका अनुसार मदेश प्रदेशमा सबै भन्दा धेरै उजुरी परेको छ ।
कुन प्रदेशमा कति उजुरी परे ?
मदेश प्रदेश – एक हजार ६९
बाग्मती प्रदेश – तीन सय ५८
लुुम्बिनी प्रदेश – दुुई सय ११
प्रदेश १ – ९२
सुदूरपश्चिम प्रदेश – ४५
ग्ण्डकी प्रदेश – ३५
कर्णाली प्रदेश – २२
मिटर व्याजीले चर्को व्याजमा ऋण दिने र तिर्न नसकेको भन्दै घर जग्गानै हडपेको भन्दै पीडितहरु आएर काठमाडौंको माइतीघरमा प्रदर्शन गरेर बसेपछि सरकारले गृहमन्त्रालयको सह–सचिव भुसालको नेतृत्वमा कार्यदल गठन गरेपछि आएको उजुरी हो ।
विगतलाई हेर्ने हो भने केही वर्ष अगाडि देखिनै पीडितले मिटर व्याजी बिरुद्ध उजुरी दिन थालेको देखिन्छ ।
आर्थिक वर्ष २०७६/७७ मा ३ जनाले मिटरव्याजी विरुद्ध उजुरी दिएका छन् भने आर्थिक वर्ष २०७७/७८ मा ७ जनाले उजुरी दिएका छन् । यस्तै आर्थिक वर्ष २०७८/७९ मा भने ४९ जनाले उजुरी दिएका छन् । साथै, चालुु आर्थिक वर्ष साउन महिनाको २३ गते सम्म भने १७ जनाले उजुरी दिएको नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
पीडितले उजुरी दिएपनि प्रभावकारी कानूनी कारबाही भएको भने देखिँदैन ।
उसो त कार्यदल गठन गरेर उजुरीको लागि सरकारले आह्वान गरेपछि पीडितहरु न्यायको आशामा बसिरहेका छन् । अझैपनि माइती घर अगाडि मिटर व्याजीको भीड भने कम भएको छैन् ।
माइती घर अगाडि धर्ना बस्दापनि मिटर व्याजी बिरुद्ध अहिलेसम्म कुनै कानूनी कारबाही नभएको उनीहरुको गुनासो रहेको छ । उनीहरु भन्छन्, “हामी यहाँ बसेको धेरै समय भइसक्दा पनि सरकारले न्याय दिनको लागि केही पहल गरेको छैन् । त्यसैले हामी यही भदौ १६ गते बालुवाटार गएर प्रधानमन्त्री निवास अगाडि प्रर्दशन गदैछौँ ।”
यही भदौ १६ गते सबै पीडितहरु एक जुट भएर बालुवाटारमा प्रधानमन्त्री निवास अगाडि गएर प्रर्दशन गर्ने बताएका छन् । जबसम्म न्याय पाउदैनन् तबसम्म प्रर्दशन गरिरहने उनीहरुको भनाई छ ।


विश्व खबर 



















