काठमाडौं– केन्याविरुद्धको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो ।
नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र वसिर अहमदले दुई–दुई विकेट लिए । त्यस्तै करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।
केन्याका शेम एन्गोचे, भिराज पटेल र नेहेम्याह ओधियाम्बोले दुई–दुई विकेट लिए । लुकास ओलुओचले एक विकेट लिए । अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।


विश्व खबर 


















