विराटनगर- प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउनेगरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं.१ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
प्रदेश नं.१ को धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा रहेको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज रथयात्रा तथा सञ्चालन हुने स्थानका बारे जानकारी लिएपश्चात् मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने नागरिकको स्वास्थ्य पनि जोखिम नहुनेगरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गरेका छन्। विराटनगरमा हरके वर्ष श्रीकृष्ण जन्माष्टीको भोलिपल्ट भव्य रथयात्रा हुनेगर्दछ । उक्त रथयात्रामा लाखौंकोसंख्यामा भक्तजनहरू सहभागी हुने गर्छन् ।
यस वर्ष कोभिड संक्रमणलाई ख्याल गर्दै झाँकीबाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ । आज मुख्यमन्त्री कार्यालयमा आयोजित छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश नं. १ प्रमुखसहित मोरब जिल्लास्थित सुरक्षा अधिकारीहरू उपस्थित थिए ।






















