काठमाडौं- गएको जनवरी १३ मा साउदी अरबमा सडक दुर्घटनामा परेर गम्भिर घाइते भई हाल नेपालमा उपचाररत रामबहादुर तामाङको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । कम्पनीले तीन महिना उपचार गरेर बेवास्था गरेपछि नेपाल ल्याइका तामाङको उपचार गरिरहेको परिवार अहिले आर्थिक अभावमा परेको हो ।
कम्पनी र अस्पतालले उपचारमा बेवास्था गरेपछि साउदीस्थित नेपाली दूतावास, विभिन्न नेपाली संस्थाहरु र वैदेशिक रोजगार बोर्डको पहलमा टिकट काटेर नेपाल एअरलाइन्सको जहाजमार्फत् साउन ४ गते रामबहादुरलाई नेपाल ल्याइएको थियो । रामबहादुरलाई नेपाल ल्याएर एक हप्ता नर्भिक अस्पतालमा उपचार गरियो । नर्भिकले गर्नेजति सबै उपचार सकिएको र अब थेरापी मात्रै बाँकी छ भनेपछि परिवारले डेढ लाख रुपैयाँ तिरेर शंखमुलको आयुष अस्पतालमा थेरापीसहितको उपचार गराइरहेको छ ।
रामबहादुरको अहिले दिनमा दुई पटक थेरापी हुन्छ । बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म । आफ्ना श्रीमान् रामबहादुर तामाङको अनुहार हेर्दै टोलाइरहेकी काभ्रे रोशी गाउँपालिकाकी बसन्ती तामाङ १० दिनकै फिजियो थेरापी गरेको ५० हजार रुपैयाँ खर्च लाग्ने भएकाले गाह्रो भएको बताउछिन् । “थेरापी मात्रै नभएर औषधि पनि त्यति नै महंगो छ । रामबहादुरले कमाएको पैसा उपचारमै सकिसक्यो । ऋण खोजेर अब माग्न जाने ठाउँ पनि कतै कतै छैन । साउदीमा रहेका नेपालीहरुले रामबहादुर बचाउँ अभियान मार्फत ६ लाख ९ हजार ३६४ रुपैयाँ प्रप्त भएको छ । यो रकमले अहिलेलाई केही राहत भए पनि सरकारले नहेर्दा खर्च धान्न गाह्रो भएको छ ।” बसन्ती बताउछिन् ।
वैदेशिक रोजगारीमा गएका श्रमिक करार अवधि सकिएको एक वर्षभित्र दुर्घटना वा गम्भीर बिरामी भएमा सात लाख रुपैयाँसम्म उपचार खर्च वैदेशिक रोजगार बोर्डले बेहोर्ने व्यवस्था भएपनि करार तथा भिसाको म्याद सकिएका कारण सरकारले रामबहादुरको उपचार खर्चमा सहयोग गरेन । विदेशबाट पठाएको रेमिट्यान्स राज्यको आम्दानीमा गणना भयो तर छोरो गम्भीर बिरामी हुँदा राज्यले हेला गरेको छ । कागजात बोकेर छोराको उपचारमा सहयोगको आचना गर्दै वैदेशिक रोजगार बोर्डमा धाएर निराश बन्दै फर्किएका रामबहादुरका बुवा गुनासो गर्छन् ।
करार अवधिभित्र वा करार अवधि नाघेको एक वर्षभित्रको समयमा यस्ता दुर्घटना वा बिरामी भएमा मात्रै वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट उपचार खर्च बेहोर्ने व्यवस्था छ । त्यसको लागि पनि श्रम स्वीकृति लिएर गएको हुनुपर्छ । करार अवधि सकिएर पनि एक वर्ष नाघेको अवस्थामा पनि यस्ता पीडितले राहत तथा उपचार खर्च पाउन् भनेर श्रम मन्त्रालयले गएको असारमा एउटा कार्यदल गठन गरेको छ । तर कार्यदल अध्ययनकै क्रममा रहँदा रामबहादुरको परिवार सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्थामा पुगेको छ ।


विश्व खबर 



















