काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौँ पटक प्रधानमन्त्री भएको १ वर्षपछि आफ्नो परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेका छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जलस्रोतका विषयमा कलम चलाउँदै आएका अरुणकुमार सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।
धनकुटामा जन्मेका सुवेदीले विज्ञानमा स्नातकोत्तरसम्मको अध्ययन ग गरेका छन् । भूराजनीतिका विषयमा स्वअध्ययन गरेका सुवेदीले नेपालको विदेश सम्बन्ध नीतिमा समयानुकूल पुनरवलोकन तथा परिमार्जन गर्नुपर्ने धारणा राख्दै आएका छन् । यो विषयमा उनले विभिन्न कार्यपत्र, प्रवचन दिँदै आएका छन् ।
यसैगरी बैठकले विभिन्न मन्त्रालयका सचिवको सरुवा तथा बढुवा गरेको छ । बैठकले प्रशासनतर्फ सहसचिव दीपक काफ्ले र लेखापरीक्षणतर्फ सहसचिव बिन्दु विष्टलाई सचिवमा बढुवा गरेको छ । लुम्बिनी प्रदेशका प्रमुख सचिवमा बढुवा भएका दीपक काफ्लेलाई पदस्थापन गरिएको छ ।
बढुवा भएका काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख र विष्ट महालेखा परीक्षकको कार्यालयमा नायब महालेखा परीक्षकको जिम्मेवारीमा थिए ।
अर्थ मन्त्रालयका सचिव मधुु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिवको समेत जिम्मा दिने निर्णय भएको वन तथा वातावरणमन्त्री प्रदीप यादवले बताए ।
बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्ली शर्मालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ ।























