images
images
  • शिन्जो आबे नेपाल भ्रमणमा आउन ‘चाहन्थे’

    टोकियो- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे पदमा रहेकै बेला नेपाल आउन “इच्छुक रहेको” तर “समय र आवश्यक प्रबन्ध मिल्न नसक्दा” उनको भ्रमण हुन नसकेको जापानका लागि नेपालकी निवर्तमान राजदूतले बताएकी छन्।

    आबेको गोली प्रहारबाट ६७ वर्षको उमेरमा शुक्रवार हत्या भएको थियो।

    नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो।

    गम्भीर घाइते भएका उनको पछि अस्पतालमा मृत्यु भएको बताइएको छ।

    नेपालप्रति लगाव
    केही महिनाअघि मात्र आफ्नो कार्यकाल सकिएर नेपाल फर्किएकी जापानका लागि निवर्तमान नेपाली राजदूत प्रतिभा राणाका अनुसार आबेको नेपाल र नेपालीप्रति “विशेष लगाव” थियो।

    उनले आबेले सन् २०१९ मा राष्ट्रपति विद्यादेवी भण्डारीको जापान भ्रमणका मौकामा देखाएको “व्यवहारले त्यसलाई पुष्टि गर्ने” बताइन्।

    राष्ट्रपति विद्यादेवी भण्डारी सन् २०१९ मा जापानका सम्राटको राजगद्दी आरोहण समारोहमा सहभागी हुन गएकी थिइन्। उनी नै आबेलाई भेट्ने सबैभन्दा उच्च पदमा रहेको अन्तिम नेपाली हुन्।

    उक्त भ्रमणको स्मरण गर्दै राणाले बीबीसीसँग भनिन्, “उहाँले नेपाललाई विशेष माया गर्नुहुन्थ्यो। उहाँको नेपालप्रति सफ्ट कर्नर छ भन्ने हाम्रो राष्ट्रपतिज्यूको भ्रमणका बेलामा देखियो।”

    “राजगद्दी आरोहण समारोहको त्यस्तो व्यस्त समयमा पनि उहाँले नेपाली प्रतिनिधिमण्डललाई भेट्न समय निकाल्नु भयो। मैले त पाँच मिनेटका लागि भए पनि समय मिलाइदिन जापानीहरूलाई आग्रह गरेकी थिएँ, उहाँले १५ मिनेट समय दिनुभयो र नेपाल-जापान सम्बन्धका विभिन्न विषयमा कुराकानी गर्नुभयो।”

    नेपाल भ्रमणको चाहना
    आफूले जापानमा रहँदा पटकपटक आबेलाई भेट्ने अवसर पाएको राणा बताउँछिन्।

    “उहाँले वर्षमा एक पटक सबै देशका राजदूत महिलाहरूलाई छुट्टै भेटघाटको कार्यक्रम राख्नुहुन्थ्यो। त्यो पनि उहाँकै निवासमा,” राणा भन्छिन्।

    “त्यसक्रममा मैले उहाँसँग भेट्ने र व्यक्तिगत रूपमै छलफल गर्ने मौका पनि पाएकी थिएँ।”

    राणाका भनाइमा आबेले नेपालको भ्रमण गर्ने इच्छा राखेका थिए। तर त्यो सफल हुन सकेन।

    त्यसको कारणबारे उनी भन्छिन्, “जापानबाट नेपालमा ठूलो जहाज पनि अवतरण गर्न नसकिने अवस्था भयो। मैले दिल्लीमा गएका बेलामा भए पनि मिलाउने कोसिस गरेँ।”

    “तर कोभिडका कारण व्यवस्थापन गर्न सकिएन। नेपाली प्रधानमन्त्रीको जापान र जापानीको नेपाल भ्रमण गराउने भनेर हामीले परराष्ट्र मन्त्रालयबाट पनि केही कुरा अघि बढाएका थियौँ। तर उहाँ आउन पाउनु भएन।”

    उनले आबेको निधनले आफूलाई बेचैन बनाएको बताइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images