न्यून आय भएको परिवार । खेतपाती केही नभएकाले उहाँले परिवार भारी बोकेरै पाल्नुभयो । आठ÷दश वर्ष पहिलेसम्म कुश्मा बजारबाट बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारसम्म खाद्य सामग्री बोक्ने उहाँको दैनिकी थियो । त्यहीँ सामग्री बोकेर आउने ज्यालाले उहाँको परिवारमा चुल्हो बल्थ्यो । बागलुङ–कुश्मीशेरा सडक सञ्चालनमा आएसँगै उहाँको रोजगारी खोसियो । उहाँ हुनुहुन्छ जैमिनी नगरपालिका कुश्मीशेरा चित्रेली डाँडाका विष्णुप्रसाद शर्मा । शर्माले भारी बोकेर जोडेको पैसाले सानो घर बनाउनुभएको थियो । अहिले उहाँको रोजगारी मात्रै खोसिएको छैन, दुःखसुखले बनाएको सानो बास पनि प्राकृतिक विपत्का कारण खोसिने गरेको छ । चित्रेली डाँडामा दुःखले जोडेको घर २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले भत्कायो । गाउँका सबै घर सुरक्षित रहँदा विष्णुको घरको धुरी भने भुइँमा बजारियो । संयोग घरबाट भागेर उहाँको परिवारले ज्यान बचाएको थियो । भत्केको गाह्रोमा जस्तापाताले अँठ्याएर चार बर्खा विष्णुको चारजनाको परिवारले बिताए । भूकम्प पुनर्निर्माण प्राधिकरणको अनुदानमा उहाँले पुनः घर त बनाउनुभयो तर अब त्यही घर पनि विपत्तिले घेरिरहेको छ । चुल्होको डिलमा चुहिने पानी र बिस्तराको नजीकैबाट बग्ने भल तर्काएको छ महिना नपुग्दै उहाँको घरको जगमा पहिरो पुगेको छ । गत बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण घरको जग नै बगाउने गरी पहिरो गएको हो । शुक्रबार बिहान गएको पहिराका कारण घर जोखिममा परेको उहाँले बताउनुभयो । “अब नयाँ ठाउँ खोजेर नयाँ घर बनाउने अवस्था छैन, बलेनीबाट भत्केर बारीको पाटामा पुगेको छ, घरको जग नै जोखिममा रह्यो”, शर्माले भन्नुभयो, “अन्यत्र घर बनाउने उपाय छैन, भएको घर बस्ने अवस्थाको रहेन ।” वर्षौंपछि बनेको घर पहिराको जोखिममा परेपछि शर्माको परिवार बिचल्लीमा परेको छ । प्रकृतिले समेत पटकपटक आफूमाथि अन्याय गरेको शर्मा बताउनुहुन्छ । पानी परिरहेका बेला घरमा बस्नै नहुने गरी जग भत्किएकाले शर्मा परिवार समास्यामा छ । उहाँको घरछेउमा गएको पहिरो हेरेर फर्किएका नगर प्रमुख इन्द्रराज पौडेलले सहयोग गर्ने आश्वासन दिनुभएको छ । “जेठमा नै आएको पहिराले घर जोखिममा परेपछि सग्लो बर्खा के होला”, पहिरो हेरेर फर्किएपछि स्थानीयवासी विष्णु आचार्यले भन्नुभयो, “तत्काल पहिरो नियन्त्रण वा परिवारलाई अन्यत्र सार्नुपर्ने देखियो ।”


विश्व खबर 




















